श्री एयरलाइन्स बन्यो सुदूरपश्चिम रोयल्सको डोमेस्टिक एयरलाइन्स पार्टनर

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले श्री एयरलाइन्सलाई आफ्नो डोमेस्टिक एयरलाइन्स पार्टनरका रूपमा अनुबन्ध गरेको छ । साझेदारी अन्तर्गत श्री एयरलाइन्सले एनपीएल सिजनभर सुदूरपश्चिम रोयल्सका खेलाडी तथा टोली व्यवस्थापनको घरेलु हवाई यात्रालाई सहज बनाउन सहयोग गर्नेछ ।

श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा योगदान गर्न पाउनु गर्वको विषय भएको बताए ।

‘सुदूरपश्चिम रोयल्ससँग डोमेस्टिक एयरलाइन्स पार्टनरका रूपमा जोडिन पाउँदा हामी निकै खुसी छौँ। नेपाली क्रिकेटको उत्थानशील यात्रामा आफ्नोतर्फबाट योगदान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो,’ उनले भने ।

उनले एनपीएल अवधिभर सुदूरपश्चिमका खेलाडी तथा टोली व्यवस्थापनको घरेलु यात्रालाई सहज बनाउँदै उनीहरूको यात्राको हिस्सा बन्न पाएको बताए । उनले सुदूरपश्चिम रोयल्सलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिए ।

यस्तै, सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले श्री एयरलाइन्ससँगको साझेदारीले टोलीको यात्रा थप सहज र व्यवस्थित हुने बताए ।

‘श्री एयरलाइन्सजस्तो नेपाली हवाई सेवा प्रदायकसँग डोमेस्टिक एयरलाइन्स पार्टनरका रूपमा सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। एनपीएलको व्यस्त तालिकामा खेलाडी तथा टोली व्यवस्थापनको यात्रा सहज र व्यवस्थित हुनु निकै महत्वपूर्ण हुन्छ,’ उनले भने ।

खड्काले श्री एयरलाइन्सको साथले टोलीको यात्रालाई सहज बनाउने विश्वास व्यक्त गर्दै नेपाली क्रिकेटको विकाससँगै नेपाली व्यवसाय र खेलकुद क्षेत्रबीचको सहकार्यलाई अघि बढाउन साझेदारीले भूमिका खेल्ने बताए ।

सम्बन्धित खबर

सिफारिस