
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएममार्फत १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकका अनुसार केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधिका एटीएममार्फत १०० रुपैयाँका नयाँ नोट वितरण गर्न थालेका छन् ।
चाडपर्वका लागि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ । उक्त व्यवस्था असोज १ गतेदेखि लागू गरिएको हो ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै यस वर्ष नयाँ नोटका विषयमा अनावश्यक प्रचारप्रसार नगर्ने नीति लिइएको छ ।
उनका अनुसार पछिल्ला चार-पाँच वर्षदेखि राष्ट्र बैंकले चाडपर्वका अवसरमा नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्दै आएको छ ।
राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिला तथा सफा नोटको प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । चाडपर्वका समयमा सर्वसाधारणलाई आवश्यक पर्ने साना दरका नोटको सहज उपलब्धताका लागि बैंक तथा वित्तीय संस्थामार्फत व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।