
काठमाडौं । नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिंक रहने भएको छ ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्न लागेको एनभीएललाई एक्सट्रिम इनर्जी ड्रिंकले तीन वर्षका लागि मुख्य प्रायोजन गर्ने सम्झौता भएको हो । सम्झौतासँगै प्रतियोगिताको नाम ‘एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग’ रहने भएको छ ।
मुख्य प्रायोजनसम्बन्धी सम्झौतामा नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र एग्रो थाई फुड्स प्रालिका बिजनेस हेड सोनिया रानाले हस्ताक्षर गरेका छन् ।
एनभीएलको पहिलो संस्करणमा सहभागी हुने ६ फ्रेन्चाइज टोलीले आफ्नो तयारी तीव्र बनाएका छन् । प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज, काठमाडौं रेड्स, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्म्यासर्स सहभागी हुँदैछन् ।
प्रत्येक टोलीले एक-एक जना मार्की खेलाडीसमेत अनुबन्ध गरिसकेका छन् । अन्नपूर्ण स्पाइकर किंग्सले हिमाल सुनारी मगर, कर्णाली शिवराजले पहल गहतराज, काठमाडौं रेड्सले सुनिल बोहरा, खप्तड फाल्कन्सले धिरोजकाजी बस्नेत, मधेश वारियर्सले रविन नगरकोटी र सगरमाथा स्म्यासर्सले हरिहजुर थापालाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेका छन् ।
नेपाली भलिबलको इतिहासमै पहिलोपटक सम्पन्न खेलाडी अक्सनबाट प्रत्येक टोलीले ‘ए’ क्याटगोरीका समान चार तथा ‘बी’ क्याटगोरीका समान तीन खेलाडी छनोट गरिसकेका छन् ।
‘उचाइँको नयाँ उडान’ नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताका टोलीका मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकसमेत सार्वजनिक भइसकेका छन् ।
प्रतियोगिताको आधिकारिक ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन र टिकटिङ पार्टनरमा आईएमई खल्ती लिमिटेडलाई अनुबन्ध गरिएको आयोजकले जनाएको छ ।