
काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिंकमा रहेको तत्त्वहरूको कारण सर्वसाधारणको स्वास्थ्यमा खेलबाड भएको सम्बन्धी समाचारलाई लिएर कम्पनीले दियोपोस्टलाई धम्की दिएको छ । कम्पनीको तर्फबाट दियोपोस्टलाई फोन गर्दै कार्यालयमा एआइजी लिएर आउने धम्की दिइएको हो ।
आइतबार दियोपोस्टले ‘लागु औषध तस्कर’को हातमा इनर्जी ड्रिंकको व्यापार : सर्वसाधारणको स्वास्थ्यमाथि गम्भीर खेलबाड ! शीर्षकमा समाचार प्रकाशन गरेको थियो । दियोपोस्टको समाचारमा एक्स्ट्रीम इनर्जी ड्रिंकको लगानीकर्ता यसअघि लागू औषध कारोबारमा मुछिएका र फरार रहेका व्यक्ति भएको खुलासा गरेको थियो ।
साथै समाचारमा एक्स्ट्रीम इनर्जी ड्रिंकमा हानिकारक रसायनहरूको प्रयोग गरिएको र त्यसले मानव स्वास्थ्यलाई गम्भीर हानी पुराउने कुरा उल्लेख थियो ।
उक्त समाचार प्रकाशन भएपछि आफूलाई एक्स्ट्रीम इनर्जी ड्रिंकको आधिकारिक प्रतिनिधि भएको र आफ्नो नाम सोनिया रहेको भन्दै मोबाइल नम्बर ९८१८००XX३८ बाट कल गरेर एआइजी लिएर कार्यालयमै आउने धम्की दिइएको छ ।
आफूलाई सोनियाका रूपमा चिनाएकी ती पात्रले समाचारको आधिकारिकताका विषयमा प्रश्न गरेकी थिइन् ।
सोनियाले तपाईँले के आधार र प्रमाणमा समाचार लेख्नुभएको हो भनी प्रश्न गरेकी थिइन् ।
जवाफमा दियोपोस्टले आधार र प्रमाण भएर नै समाचार लेखिएको हो भन्दा उनले ती आधार र प्रमाण माग गरेकी थिइन् ।
दियोपोस्टले आधार र प्रमाण भएकै कारण समाचार लेखिएको जवाफ दिएपछि सोनियाले ती आधार र प्रमाण माग गरेकी थिइन् । जवाफमा दियोपोस्टले ती आधार र प्रमाण तपाईँलाई दिन नमिल्ने र बाहिर खुलाउन मिल्ने आधार र प्रमाणहरू समाचारमै भएको जवाफ दिएको थियो ।
त्यसपछि उनी समाचारको विषयलाई लिएर आफू नेपाल प्रहरीको एआइजीसँगै भएको भन्दै एआइजी नै लिएर कार्यालयमा आउने धम्की दिएकी थिइन् ।
सोनियाले भनेकी छिन्, ‘समाचार यत्तिकै राख्न मिल्दैन नि, त म यहाँ एआइजी सर सँग थिएँ, हाम्रो एआइजी सरसँग । उहाँले पनि एक चोटि बुझ्न खोजिराख्नु भएको थियो के हो ? कसो हो ? हजुरहरूको अफिस चाहिँ कहाँ हो ?’
सोनियाले कार्यालय कहाँ छ म एआइजी लिएर आउँछु भनेर धम्की दिइरहँदा दियोपोस्टले कार्यालय अनामनगरमा छ, आउन सक्नुहुन्छ भनेर जवाफ दिएको थियो ।
त्यसपछि सोनियाले रिसाउँदै, ‘हजुरहरूले के प्रुफ राख्नु भएको हो, त्यो प्रुफ रेडी पारेर राख्नु होला, हामी लिगल्ली जान लागेका छौँ, अरूको ब्रान्डको बारेमा लेख्नु अगाडी हजुरले स्टडी त गर्नु भएको होला’ लगायतका कुरा गरेकी छिन् ।
दियोपोस्टले अध्ययन गरेरै बुझेरै, प्रमाण राखेरै समाचार लेखिएको हो भन्ने जवाफ दिएपछि सोनियाले ती सबै रेडी बनाएर राख्नु, म एआइजीलाई लिएर आउँदै छु, एआइजी सर पनि आउँदै हुनुहुन्छ भनेर धम्की दिएकी छिन् ।

दियोपोस्टले को एआइजीको कुरा गर्दै हुनुहुन्छ भनी प्रश्न गर्दा सोनिया भन्छिन्, ‘हाम्रो पुलिसको एआइजी नि अफकोर्स’ भन्ने जवाफ दिएकी छिन् ।
त्यसबाहेक सोनियाले प्रहरी लिएर आउने धम्की दिएकी छिन् भने ब्रान्डमा क्षति पुगेको ठेक्का कसले लिन्छ भनेर प्रश्न गरेकी छिन् ।
दियोपोस्टलाई यो धम्की दिने पात्र हुन्, एक्स्ट्रीमकी बिजनेस हेड सोनिया राना । उनी एक्स्ट्रीम इनर्जी ड्रिंकको बिजनेस मार्केटिङ हेर्ने गरेकी छिन् र उनको प्रहरीसँग नजिकको सम्बन्धसमेत छ ।

माथिको तस्बिरमा एक्स्ट्रीमकी बिजनेस हेड सोनिया र नेपाल प्रहरीका एआइजी राजन अधिकारीबिच कुनै सम्झौता भएर लेटर एक्सचेन्ज भएको देखिन्छ । सोनियाले यिनै एआइजी राजन अधिकारीको नाम लिएकी हुन् कि अन्य एआइजी, त्यो खुलेको छैन ।
के भन्छ प्रहरी ?
एक्स्ट्रीमकी बिजनेस हेड सोनिया राणाले नेपाल प्रहरीको एआइजीको नाम लिएर धम्की दिँदै एआइजीलाई लिएर कार्यालयमा आउने सम्बन्धमा नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबि नारायण काफ्लेसँग प्रतिक्रिया लिन खोजेको थियो । यसरी कसैले एआइजी लिएर आउँछु भन्दै धम्की दिएको हो कि प्रहरीकै दुरुपयोग गरेको हो भन्ने दियोपोस्टको सवालमा काफ्लेले दुई जनाबिच भएको टेलिफोन कुराकानीमा प्रहरीको कुनै चासो, जानकारी वा संलग्नता नहुने बताए । काफ्लेले भने, ‘अब दुई जनाबिच के कुरा हुन्छ, त्यो हामीलाई थाहा हुने कुरा भएन । कसैले प्रहरीको दुरुपयोग गर्यो कि के भन्यो भन्ने कुरा प्रहरीको जानकारीमा आउँदा वा कानुनी प्रक्रियामा आउँदा मात्रै थाहा हुने र अनुसन्धान हुने हो, अहिले नै यस विषयमा प्रहरीको कुनै प्रतिक्रिया हुँदैन ।’