
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहार तथा छठ पर्वलाई लक्षित गर्दै फूलमाला, फूल तथा सजावटका सामग्री बिक्री वितरणका लागि विभिन्न स्थान तोकेको छ ।
महानगरपालिकाले दीपावली पर्वका अवसरमा प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न र स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।
महानगर प्रहरी बलले सार्वजनिक गरेको सूचनाअनुसार प्लास्टिकजन्य फूलको प्रयोगलाई निरुत्साहित गर्दै स्वदेशी फूल तथा मालाको बिक्री वितरण व्यवस्थित बनाउन विभिन्न स्थान तोकिएका हुन् । तोकिएका स्थानबाट मात्रै फूलमाला बिक्री वितरण गर्न महानगरले आग्रह गरेको छ।
महानगरपालिकाले फूलमाला बिक्री वितरणका लागि नयाँ बानेश्वर, रत्नपार्क, भृकुटीमण्डप, कालीमाटी, कलंकी, कोटेश्वर, चाबहिल, बालाजु, गोंगबु, बसुन्धरा, कमलादी, अनामनगरलगायत स्थान तोकेको छ।
त्यस्तै, हाँडीगाउँको वडा नम्बर ५ स्थित आगमघरको डबली र वडा नम्बर ५ कै गुठी मन्दिर डबली, कोइरालाटार स्मार्ट क्षेत्र, महाराजगन्ज, बानेश्वर, सिनामंगल, गौशाला, बौद्ध, सुन्धारा, न्युरोड, लाजिम्पाट, जडीबुटीलगायत स्थानमा पनि फूलमाला बिक्री गर्न सकिनेछ।
महानगरले ए.सी.टी. कम्प्लेक्स, चाबहिल, कमलादीस्थित आईटी बिल्डिङ, पुतलीसडकस्थित स्टार मल, अनामनगरस्थित भाटभटेनी सुपरमार्केट र नयाँ बजारस्थित भ्याली कोल्ड स्टोर आसपासका क्षेत्रलाई पनि बिक्री स्थलका रूपमा तोकेको छ।
महानगरपालिकाले स्वदेशी फूल तथा मालाको उत्पादन र बिक्री वितरणलाई प्रोत्साहन गर्दै प्लास्टिकजन्य फूलको प्रयोग रोक्न सम्बन्धित सबैलाई सहयोग गर्न अनुरोध गरेको छ । बिक्री वितरणका क्रममा थप जानकारी तथा सहजीकरणका लागि महानगर प्रहरी बलको सम्पर्क नम्बर ०१-५९०१७४३, ०१-५९०१७४६ तथा मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
