
काठमाडौँ । वर्षा रोकिएसँगै उत्तरपश्चिम भारतका विभिन्न क्षेत्रमा पराल जलाउँदा निस्कने धुवाँ नेपालतर्फ पनि भित्रिन थालेको आशंका गरिएको छ । यसको प्रभावले तराईका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको देखिएको छ भने काठमाडौँको हावा पनि तीव्र गतिमा दूषित हुँदै गएको छ ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार भारतमा पराल जलाउँदा निस्कने धुवाँ र तुवाँलो हावाको बहाव अनुकूल भए नेपालसम्म आइपुग्न सक्छ ।
आगामी दिनमा वायु प्रदूषण अझ बढ्न सक्ने भएकाले स्थानीय प्रदूषणका स्रोत नियन्त्रणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । विशेषगरी फोहोर जलाउने तथा अत्यधिक धुवाँ उत्सर्जन गर्ने सवारीसाधनले वायु प्रदूषण थप बढाउन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ ।
भारतबाट आउने धुवाँका साथै नेपालभित्रैका प्रदूषणका स्रोतले पनि हावाको गुणस्तर बिगार्न सक्ने भएकाले नियन्त्रणका उपाय अपनाउनुपर्ने देखिएको छ ।
वायु प्रदूषण कम गर्न फोहोर नजलाउने, सवारीसाधनको नियमित मर्मतसम्भार गर्ने तथा आफ्नो क्षेत्रको वायु गुणस्तरबारे जानकारी राख्ने जस्ता उपाय अपनाउन सकिन्छ । हावालाई स्वच्छ राख्न सरकारी प्रयाससँगै नागरिकको भूमिका पनि महत्त्वपूर्ण हुने मौसमविद् पोखरेलको सुझाव छ।