म्याद गुज्रिएका चकलेट र अवैध पटाकासहित भारतीय नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । तिहारमा भाइ मसला बनाउन प्रयोग गरिने म्याद गुज्रिएका चकलेट र अवैध पटका बिक्री वितरण गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मोतिहारी घर भई काठमाडौँ महानगरपालिका-६ तिनचुली चोकस्थित एक घरमा डेरा गरी बस्ने २९ वर्षीय रमन कुमार पटेल रहेका छन् ।

अवैध रूपमा पटका तथा म्याद गुज्रिएका भाइ मसला बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त स्थानमा चेकजाँच गर्दा विभिन्न प्रकारका पटका तथा विस्फोटक पदार्थ, म्याद गुज्रिएका चकलेट र तिहारका लागि तयार पारिएका भाइ मसलाका सामग्री फेला पारेको थियो ।

प्रहरीका अनुसार बरामद सामग्रीमा पेन्टा स्काइ फ्ल्यास लेखिएको झिरझिरे ४३ प्याकेट, कलरकोट लेखिएको झिरझिरे ३९ प्याकेट, सिल्भर टर्चर १० प्याकेट, बालाजिस ४१ प्याकेट, ग्लिटर रेन पाँच प्याकेट, लन्डन ड्रिम्स १५ प्याकेट, क्र्याक्लिङ १५ प्याकेट, पपरपप जेन्युइन २१ प्याकेट, मोरी १३८ प्याकेट र स्पिनर बम १० प्याकेट रहेका छन् ।

त्यस्तै, क्लासिक बम, इलेक्ट्रिकल्स रड ६ पिस, सुप्रीम लेखिएको २३ पिस, सुप्रीम फायर वर्क्स दुई पिस, पप मिकी माउस २१ पिस, कोब्रा किङ २२ प्याकेट र क्र्याक्लिङ २५० प्याकेट पनि बरामद गरिएको छ ।

यसैगरी, भाइ मसला बनाउन प्रयोग गरिने कोटकूट लेखिएको चकलेट १४० प्याकेट, तिहारको स्पेसल भाइ मसला ४१० प्याकेट, तिहारको भाइ मसला कचौरा ३१५ प्याकेट, बिग्रिएको नरिवल एक किलो र चकलेट १० किलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सामग्रीसहित पक्राउ परेका पटेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।