विराटनगरसँग जनकपुर दुई रनले पराजित

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ। यो जितसँगै सुरुवाती दुई खेलमा पराजय बेहोरेको विराटनगरले लगातार दोस्रो जित निकालेको हो ।

विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । जनकपुरका सेफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । ४८ बल खेलेका उनले दुई चौका र पाँच छक्का प्रहार गरे।

विशाल सुशिलङले ४३ र जिमी निशमले २९ रन बनाए। एक समय ३० रनमा तीन विकेट गुमाएको जनकपुरलाई हसन र विशालले चौथो विकेटका लागि ७६ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । निशम र हसनले पाँचौँ विकेटका लागि ५६ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

विराटनगरका आन्द्रे रसेलले चार विकेट लिए । उनले अन्तिम बलमा हसनलाई आउट गर्दै टोलीको जित सुनिश्चित गरे। एन्जेलो म्याथ्युजले दुई र रुपेश सिंहले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले तीन विकेट गुमाएर १७४ रन बनाएको थियो । इमरान शेखले ५६, लोकेश बमले ५० र रसेलले अविजित ५२ रन बनाए। इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरे ।

एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको यो पहिलो पटक हो ।

सुरुवाती दुई खेलमा पराजित विराटनगरले लगातार दोस्रो जित निकाल्दै चार खेलबाट चार अंक जोडेको छ । चार खेल खेलेको जनकपुरको पनि चार अंक छ ।