
काठमाडौँ । सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने निर्णय गरेको हो ।
नवनियुक्त आईजीपी केसी चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई गति दिने अधिकारीका रुपमा परिचित छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उनले २०७९ चैत १२ गते उक्त प्रकरणका मुख्य अभियुक्तमध्येका केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेका थिए ।
केसीकै नेतृत्वमा अनुसन्धान अघि बढ्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसम्म पुगेको थियो । खाँणलाई पक्राउ गर्न गएको प्रहरी टोलीको नेतृत्वसमेत उनले गरेका थिए। उक्त अनुसन्धानका कारण उनी चर्चामा आएका थिए ।
२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका केसी र निवर्तमान आईजीपी दानबहादुर कार्की एउटै ब्याचका अधिकारी हुन् । कार्की आईजीपी नियुक्त हुँदा केसी पनि प्रमुख दाबेदारमध्ये थिए ।
केसीले प्रहरी सेवाका अतिरिक्त प्राज्ञिक क्षेत्रमा पनि उच्च योग्यता हासिल गरेका छन् । उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा मानवशास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् ।
आईजीपी नियुक्त हुनुअघि केसी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्वमा थिए । यसअघि उनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा समेत कार्यरत थिए ।
यसैबीच, सरकारले निवर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । यसका लागि आईजीपीस्तरको नयाँ पद सिर्जना गरिएको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले कार्कीमाथि कुनै कारबाही नभएको स्पष्ट पार्दै मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा परामर्श दिन नयाँ जिम्मेवारी दिइएको बताएका छन् ।
कार्की २०८२ कात्तिक २७ गतेदेखि नेपाल प्रहरीको ३३औँ आईजीपीका रूपमा कार्यरत थिए ।