फुर्केखोलाको ज्ञापनपत्र बुझाउन गएका पूर्वमुख्यमन्त्री पाण्डेले मन्त्री लम्साललाई भेट्न पाएनन्

दियोपोस्ट संवाददाता

काठमाडौँ । फुर्केखोलाको पुल निर्माणका विषयमा छलफल गरी ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहित धादिङका पूर्वसांसदहरूको टोलीले पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई नभेटी फर्किएका छन्।

पूर्वमुख्यमन्त्री पाण्डेको नेतृत्वमा गएको टोलीले मंगलबार मन्त्री लम्साललाई भेटेर फुर्केखोलाको पुलका विषयमा छलफल गर्ने र ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो । तर, निर्धारित समयमा मन्त्रालय पुग्दा पनि मन्त्रीसँग भेट हुन नसकेको पाण्डेले बताए ।

पाण्डेका अनुसार सोमबार मन्त्रीका सल्लाहकार सन्तोष पाण्डेलाई भेटेर मन्त्रीसँग भेट्ने समय लिइएको थियो । सल्लाहकारले मंगलबार बिहान ११ः३० देखि १२ बजेसम्म भेट्ने समय निर्धारण गरेको उनले बताए ।

मंगलबार मन्त्रालय पुगेपछि सल्लाहकार सन्तोषले मन्त्रीका निजी सचिव (पीए) प्रतीक श्रेष्ठलाई भेटाइदिन खबर गरेको भन्दै आफूहरूलाई मन्त्रीको कार्यकक्षमा पठाएको पाण्डेको भनाइ छ । तर, निजी सचिव श्रेष्ठलाई भेट्दा उनले मन्त्रीसँग भेट्ने समय नलिएको बताएको पाण्डेले जानकारी दिए।

टोली बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मन्त्रालय परिसरमै बसेको थियो । तर, मन्त्रीसँग भेट हुन नसकेपछि टोली सिंहदरबारबाट बाहिरिएको पाण्डेले बताए।

त्यसपछि मन्त्रीलाई भेटाइदिन आग्रह गर्दा मन्त्री कार्यकक्षमा नरहेको र गइसकेको जवाफ पाएको उनले बताए । निर्धारित समय लिएर मन्त्रालय पुग्दा पनि मन्त्रीसँग भेट हुन नसकेको भन्दै टोलीले असन्तुष्टि जनाएको छ।

फुर्केखोलाको पुलका विषयमा छलफल गरी ज्ञापनपत्र बुझाउने उद्देश्यले मन्त्रालय पुगे पनि मन्त्रीसँग भेट हुन नसकेको पाण्डेको भनाइ छ।

सम्बन्धित खबर

सिफारिस