सांसद विश्वकर्माको प्रश्न- ‘दलितप्रति क्षमायाचनापछि संरचनागत सुधार खै ?’

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गणेश विश्वकर्माले दलित समुदायमाथि भइरहेका विभेद तथा विभिन्न घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्  । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद विश्वकर्माले सरकारले अपेक्षाकृत रूपमा ‘डेलिभरी’ दिन नसकी छ महिना पूरा गरेको बताए ।

उनले संसद्को पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दलित समुदायप्रति क्षमायाचना गर्दै १५ दिनभित्र संरचनागत सुधारका कार्यक्रम ल्याउने घोषणा गरेको स्मरण गराए ।

तर, त्यसयता पाँच जनाको हत्या, एक जनाको आत्मदाह, तीन जना सुत्केरीमाथि विभेद, तीन विद्यालयमा छुवाछूत, दर्जनभन्दा बढी मन्दिरमा विभेद तथा दुई जनामाथि सार्वजनिक बेइज्जतीका घटना भएको उनले बताए । विपद्का समयमा समेत जातीय विभेदका घटना सार्वजनिक भएको उनको भनाइ थियो ।

सांसद विश्वकर्माले राजनीतिक नियुक्तिमा ‘मेरिटोक्रेसी’का नाममा बहिष्करण भएको आरोप पनि लगाए । उनले दलित विकास समिति, वादी विकास बोर्ड र ओबीसी विकास समिति विघटन गरिएको विषयसमेत संसद्मा उठाए ।

त्यस्तै, दीपा नेपालीको १७० दिनको सत्याग्रह र दलित जेन्जी एलाइन्सको १३१ दिनको धर्नाको समेत सुनुवाइ नभएको उनले बताए ।

दलित समुदायसँग सम्बन्धित यी विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले प्रश्न गरे, ‘के हामी दलित सांसदले दसैँ, तिहार र छठलगायतका पर्वमा यही सन्देश लिएर दलित जनताका बीचमा जाने हो र?’

उनले सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहेको बताए ।

सम्बन्धित खबर

सिफारिस