बझाङमा अटो दुर्घटना : तीन जनाको शव फेला, अन्यको खोजी जारी

दियोपोस्ट संवाददाता

काठमाडौँ । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

सोमबार बिहान १०ः२० बजे टुमेडा गाउँबाट वडा नम्बर ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

अटो सडकबाट करिब ९ सय मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । अटोमा चालकसहित चारदेखि पाँच जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको नेतृत्वमा चार जनाको टोली घटनास्थल पुगेको थियो । त्यसैगरी, इलाका प्रहरी कार्यालय बुङ्गलबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको नेतृत्वमा चार जनाको टोली पनि उद्धारमा खटिएको थियो ।

थप खोजी तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको नेतृत्वमा सात जनाको टोलीसमेत परिचालन गरिएको थियो ।

प्रहरीले घटनास्थलको बीच भिरमा तीन जनाको शव फेला पारेको छ । मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० की अन्दाजी ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महरा रहेका छन् ।

दुर्घटनामा परेको अटो तथा अन्य सवार व्यक्तिको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।