नवलपुरमा बस दुर्घटना, २५ जना घाइते

दियोपोस्ट संवाददाता

नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को कावासोती नगरपालिका-११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

सोमबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार २५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घाइतेहरूको विस्तृत परिचय तथा अवस्थाबारे थप विवरण आउन बाँकी छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।