चित्लाङबाट ६ किलो चरेससहित दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-९ स्थित चित्लाङ चेकपोइन्टबाट ६ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले गएराति करिब १ः४५ बजे सवारीसाधन जाँच गर्ने क्रममा चरेससहित जिपका चालक र एक यात्रुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका-३, सञ्जीवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका-८, तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका-११, कोल्टाँडी स्थायी घर भई हाल भरतपुर-२, क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१-०३५ च ४५६१ नम्बरको एसयूभी जिप जाँच गर्ने क्रममा चरेस फेला परेको हो ।

प्रहरीले जिपको पछाडिको डिकीमा राखिएको कालो रङको लगेजभित्र लत्ताकपडाले छोपेर सेतो प्लास्टिकमा बेरेका पाँच पोका चरेस बरामद गरेको जनाएको छ ।

बरामद गरिएको लागुऔषध, सवारीसाधन र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।