नवलपुर बस दुर्घटनामा घाइते हुनेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ  । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

कावासोती नगरपालिका-११ लोकाहास्थित पूर्व-पश्चिम राजमार्गमा आइतबार बिहान बस दुर्घटना भएको थियो । सुरुमा २५ जना घाइते भएको जानकारी प्राप्त भए पनि थप विवरण संकलन गर्दा घाइतेको संख्या ३३ पुगेको हो । दुर्घटनाका बेला बसमा चालकसहित ४१ जना सवार रहेको खुलेको छ ।

घाइतेमध्ये एक जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा कैलालीका शिवदत्त राना, केशव धामी, डम्बरबहादुर माली, खेमा मल्ल, शोभा मल्ल, चाँदनी खत्री र जानु चौधरी रहेका छन् । त्यस्तै, दार्चुलाका केशव धामी, उनकी ९ वर्षीया छोरी प्रतीक्षा धामी, दयाकृष्ण जोशी, नविना भट्ट, रोहित लोथेल, रमेश जोशी र उनकी ७ वर्षीया भतिजी श्रुति जोशी घाइते भएका छन् ।

यसैगरी बैतडीका धाना चन्द, उनका छोरा प्रेमबहादुर चन्द, राजेन्द्र जोशी, उनकी श्रीमती भागरथी जोशी, दुई वर्षीया छोरी रेणुका जोशी र महेश बिसी घाइते भएका छन् ।

दुर्घटनामा डडेल्धुराका महेश पाण्डे, डम्बर सिंह साउद, गीता कठायत, रक्षा कठायत, पुष्पा भाट र पवित्रा रावल, डोटीका बसन्त बलायर, अंकित यादव, ज्योति बुडाल र उनका १५ वर्षीय भाइ धिरज बुडाल, अछामका अमित साउद, कञ्चनपुरका जेनी राना र प्रिया साउद तथा धनुषाका भानु यादव पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार सोमबार बिहान ६ः४० बजे धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो ।

दुर्घटनापछि प्रहरीले बस चालक कैलालीको लम्कीचुहा नगरपालिका-१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।