मुगुमा हाइलक्स गाडी दुर्घटना, तीन जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । मुगुको छायानाथ रारा नगरपालिका-७, टोप्लास्थित जिमाकाँरा भीरमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी आइतबार दिउँसो ताल्चा-रारा कच्ची सडकखण्डअन्तर्गत जिमाकाँरा भीरबाट करिब ६०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौँको कलङ्की निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् ।

दुर्घटनामा परी ललितपुर महानगरपालिका-१५ निवासी ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । उनीहरू दुवैको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडीमा चालकसहित पाँच जना सवार थिए । प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।