
बझाङ । बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा संलग्न अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका-११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो ।
दुर्घटनामा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बुङ्गल नगरपालिका-१० की अन्दाजी ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा र ५ देखि ६ वर्षीया डल्ली महरा रहेका छन् ।
दुर्घटनापछि गरिएको थप खोजीका क्रममा सोही ठाउँकी अन्दाजी चार वर्षीया रियास महराको शवसमेत फेला परेको प्रहरीले जनाएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको हो ।
दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ०१-००१ ह ७९९८ नम्बरको अटोमा चालकसहित छ जना सवार रहेको खुलेको छ ।
प्रहरीले अटो चालक बुङ्गल नगरपालिका-११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो । त्यस्तै, इलाका प्रहरी कार्यालय बुङ्गलबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा चार जनाको टोली पनि उद्धारमा खटिएको थियो ।
थप खोजी तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा सात जनाको प्रहरी टोलीसमेत घटनास्थलमा परिचालन गरिएको थियो ।