
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ ‘क’ बाट एरोनोटिकल इन्जिनियर तथा पुष्पक उडान एभिएसन एकेडेमीका अध्यक्ष मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। इटनीले ‘पेशागत विषयविज्ञ’तर्फको प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिएका थिए। सो पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत चयन भएका हुन्।
विमान डिजाइन तथा उड्डयनको प्राविधिक क्षेत्रमा लामो अनुभव हासिल गरेका इटनीले विभिन्न एयरलाइन्स तथा उड्डयन क्षेत्रसँग सम्बन्धित संस्थाहरूमा काम गरिसकेका छन्। उनी पछिल्लो समय नेपालमा उड्डयन शिक्षालाई संस्थागत, व्यवस्थित र व्यावसायिक बनाउने अभियानमा सक्रिय रहँदै आएका छन्। नेपालमा उड्डयन शिक्षाको पहुँच विस्तार गर्ने, विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणसँग जोड्ने तथा उड्डयनका विभिन्न विधालाई शैक्षिक संरचनाभित्र विकास गर्ने उद्देश्यका साथ पुष्पक उडान एभिएसन एकेडेमीमार्फत उनले विभिन्न संस्थागत पहल गर्दै आएका छन्।
शैक्षिक र उड्डयन क्षेत्रका अतिरिक्त इटनी विपद् व्यवस्थापन तथा खोज-उद्धार कार्यमा आधुनिक ड्रोन प्रविधिको व्यावहारिक प्रयोग बढाउन समेत सक्रिय छन्। हालै, लाङ्टाङ-लिरुङ हिमालको उत्तरी मोहडाबाट आएको भोटेकोशी-त्रिशूली बाढीका क्रममा रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा बाढी तथा अन्य विपद्का समयमा ड्रोन र थर्मल ड्रोन प्रविधिको प्रयोग गरी खोज तथा उद्धार अभियान चलाउन उनले प्राविधिक टोलीको नेतृत्व गरेका थिए।
