सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उच्च अदालतमा कार्यरत चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

नियुक्त हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटन तथा हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरका न्यायाधीश गोर्कण डाँगी रहेका छन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको जानकारी दिएको हो ।