सुनको मूल्य एकैदिन ११ हजार ३०० रुपैयाँले घट्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसअघि तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक २२ गते सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, १० ग्राम सुनको मूल्य पनि ९ हजार ६८५ रुपैयाँले घटेको छ । महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ३२ हजार ९४० रुपैयाँ कायम भएको छ । यसअघि कात्तिक २२ गते यसको मूल्य २ लाख ४२ हजार ६२५ रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ९५ रुपैयाँले घटेर ३ हजार १७२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार तिहार बिदाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढाव र गिरावटको प्रभाव नेपाली बजारमा परेको हो ।