मोरङको सुनवर्षीमा पटका पड्काउँदा सल्किएको आगोले ५ घर जले

दियोपोस्ट संवाददाता

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-६ झपडतलमा आगलागीमा पाँच वटा घर जलेर नष्ट भएको छ  । स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुई तले घर, दुई वटा गाई गोठ, भान्छा घर र भण्डारघरसहित पाँच वटा संरचना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार साँझ ६ः ४५ बजेदेखि सुरु भएको आगलागी दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा मध्यरातमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगो निभाउन रतुवामाई, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।

आगलागीका क्रममा गाईगोठबाट गाई गोरु निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ।
प्रहरीले पटका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।

आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरे पनि क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।