न्युयोर्कमा तीनतले भवन भत्किँदा दुईको मृत्यु, १७ जना घाइते

दियोपोस्ट संवाददाता

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा तीनतले भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सात बालबालिकासहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

स्थानीय समयअनुसार करिब ४ बजे ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा निर्माणस्थल नजिकै भइरहेको उत्खननका क्रममा भवन भत्किएको हो ।

भवन भत्किएपछि भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि २५० भन्दा बढी अग्निनियन्त्रक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । उद्धारका क्रममा ड्रोन र खोजी कुकुरसमेत प्रयोग गरिएको थियो ।

अग्नि विभागकी आयुक्त लिलियन बोन्सिग्नोरले भग्नावशेषमा अझै कति जना फसेका छन् भन्ने यकिन नभएको बताएकी छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

भवन विभागका आयुक्त अहमद तिगानीका अनुसार निर्माणस्थलमा कामदारले उत्खनन गरिरहेका बेला भवन भत्किएको हो ।

उक्त स्थानमा तीनतले भवन निर्माणका लागि स्वीकृति दिइएको थियो । तर, विकासकर्ताले नौतले भवन निर्माण गर्न अनुमति मागेका थिए ।