
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा घाइते हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा मृत्यु भएका दुई जनाको पनि पहिचान खुलेको छ ।
मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका-८ का करिब ३० वर्षीय रविशंकर कुमार मण्डल र सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोलका सुवेक यादव रहेका छन् । उनीहरूको शव हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । घाइते हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन् ।
मुकेशको टाउको र ढाडमा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ । सक्षमको शरीरमा भित्री चोट लागेको र अवस्था सामान्य रहेको जनाइएको छ । त्यस्तै, सुदनको टाउको र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । त्यसैगरी, सोही स्थानका करिब २६ वर्षीय देवेन्द्र यादव गम्भीर घाइते भएका छन् भने देवेन्द्र राय मध्यम घाइते भएका छन् ।
दुर्घटनास्थल नजिकैको झाडीमा घाइते अवस्थामा फेला परेका एक बालकलाई पनि उपचारका लागि हेटौँडा पठाइएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बालकको उद्धार भएसँगै घाइतेको संख्या ६ पुगेको हो ।
दुर्घटनास्थलमा उद्धार तथा खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं.१४ गणबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक नवनकुमार खड्काको कमान्डमा थप ११ जनाको टोली परिचालन गरिएको छ ।