
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ । पहिलो संस्करणको उपाधि विजेता जनकपुर र दुई पटक फाइनलमा पुगेर उपविजेतामा सीमित भएको सुदूरपश्चिमबीचको भिडन्तलाई रोचक रूपमा हेरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट लय कायम राख्ने लक्ष्यसहित सुदूरपश्चिम आज मैदानमा उत्रनेछ । पाँच खेल खेलेको सुदूरपश्चिमले तीन खेलमा जित र दुई खेलमा हार बेहोर्दै ६ अङ्क जोडेको छ । टोली हाल अङ्कतालिकाको तेस्रो स्थानमा छ । प्लेअफमा आफ्नो स्थान बलियो बनाउन सुदूरपश्चिमका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
यता जनकपुर पनि जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ । पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको जनकपुर चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ । प्लेअफ यात्रालाई सहज बनाउन जनकपुरका लागि पनि आजको खेल महत्वपूर्ण हुनेछ ।
जारी एनपिएलको तेस्रो संस्करणमा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।