आज गोवर्धन पूजाः प्रकृति, पशुधन र कृषकप्रतिको सम्मानको पर्व

दियोपोस्ट संवाददाता

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज देशभर गोवर्धन पूजा, बली पूजा, गोरु पूजा तथा हलि पूजा गरी श्रद्धा र उल्लासका साथ मनाइँदैछ । धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान, पशुधनको संरक्षण र कृषि कर्ममा संलग्न श्रमजीवीप्रतिको कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण पर्वका रूपमा गोवर्धन पूजाको विशेष महत्व रहेको छ ।

गोवर्धन पूजाका अवसरमा घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति निर्माण गरिन्छ । उक्त आकृतिलाई गोवर्धन पर्वतका रूपमा स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट सुरक्षित राख्नुभएको पौराणिक प्रसङ्गसँग यस पर्वको सम्बन्ध रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।

धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले प्रकृति, पर्यावरण र गोपालनको महत्व बुझाउँदै गोवर्धन पर्वतको पूजा गर्ने परम्परालाई स्थापित गर्नुभएको विश्वास गरिन्छ । यसले मानव जीवन प्रकृति र प्राकृतिक स्रोतसँग अन्योन्याश्रित रूपमा जोडिएको सन्देशसमेत प्रवाह गर्दछ ।

आजकै दिन भगवान् विष्णुले राजा बलीलाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासका आधारमा बली राजाको पनि पूजा आराधना गरिन्छ । यही परम्परासँग जोडिएर तिहारमा देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने सांस्कृतिक चलन प्रचलित रहेको छ ।

गोवर्धन पूजाको अर्को महत्वपूर्ण पक्ष गोरु पूजा हो । वर्षभरि खेतबारी जोतेर अन्न उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने गोरुलाई आज विशेष रूपमा पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ । गोरुलाई भगवान् महादेवको वाहन नन्दी अर्थात् साँढेका रूपमा समेत सम्मान गर्ने धार्मिक परम्परा छ ।

त्यसैगरी, कृषि कर्ममा आफ्नो श्रम, सीप र पसिना खर्चेर समाजका लागि अन्न उत्पादनमा योगदान पुर्‍याउने हलि तथा किसानलाई सम्मान गर्ने चलन पनि यस पर्वको विशिष्ट पक्ष हो । उनीहरूलाई पूजा गरी मीठा परिकार खुवाइने भएकाले आजको दिनलाई ‘हलि तिहार’ समेत भन्ने गरिन्छ ।

वास्तवमा गोवर्धन पूजा केवल धार्मिक अनुष्ठानमा सीमित पर्व होइन । यो प्रकृति संरक्षण, पशुपालन, कृषि संस्कृति, श्रमको सम्मान र मानव तथा जीवजन्तुबीचको सहअस्तित्वको सन्देश बोकेको मौलिक नेपाली सांस्कृतिक पर्व हो । आधुनिक समाजमा कृषि र पशुधनको महत्व क्रमशः ओझेलमा पर्दै गएको सन्दर्भमा यस पर्वले किसान, कृषि श्रमिक र पशुपन्छीप्रति सम्मान तथा संरक्षणको भावना जागृत गराउन थप प्रेरणा प्रदान गर्दछ ।

धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै प्रकृति, पशुधन र श्रमको सम्मान गर्ने सन्देश प्रवाह गर्दै गोवर्धन पूजाले नेपाली समाजमा आपसी सद्भाव, सहकार्य र कृतज्ञताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।