
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरोका कारण अवरुद्ध नागढुङ्गा-मुग्लिन सडक अझै सञ्चालनमा आउन सकेको छैन । सडक खुलाउन पहिरो पन्छाउने कामलाई तीव्रता दिइएको छ ।
पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउने उद्देश्यले अहिले सडकको दुवैतर्फबाट उपकरण परिचालन गरी काम भइरहेको छ । नागढुङ्गा-मुग्लिन सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडर परिचालन गरिएको छ भने काठमाडौँतर्फबाट दुईवटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडरले पहिरो हटाइरहेका छन् ।
सडक केही सफा भएपछि काठमाडौँतर्फबाट एउटा एक्साभेटर मुग्लिनतर्फ पठाएर पहिरो पन्छाउने कामलाई थप गति दिइने अधिकारीले बताए । थप पहिरो नखसेमा दिउँसो १ बजेसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको उनको भनाइ छ ।
घोप्टेभिरमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भइरहेको छ । यसअघि राति १ बजे खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको भए पनि बिहान ५ बजे पुनः पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो ।
मुग्लिनतर्फ पहिरो पन्छाउन आवश्यक उपकरण तत्काल उपलब्ध नभएपछि भरतपुरबाट उपकरण ल्याएर काम सुरु गरिएको अधिकारीले जानकारी दिए ।
पहिरो खसेको स्थान मुग्लिनबाट करिब तीन किलोमिटर मलेखुतर्फ पर्छ । सोही स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेपछि केही समय सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध हुँदा तिहार मनाउन घरतर्फ जाँदै गरेका यात्रु बोकेका सवारीसाधन बाटोमै रोकिएका छन् । लामो समयदेखि सवारीसाधन रोकिँदा यात्रुहरू समस्यामा परेका छन् ।