कुकुर तिहारमा नेपाल प्रहरीका तालिमप्राप्त कुकुरहरूको पूजा, उत्कृष्टलाई पुरस्कार

दियोपोस्ट संवाददाता

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आइतबार विशेष कार्यक्रम आयोजना गरी तालिमप्राप्त प्रहरी कुकुरहरूको पूजा गरिएको छ ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूको विधिपूर्वक पूजा गरेका थिए ।

सो अवसरमा यस वर्ष अपराध अनुसन्धान तथा खोज कार्यमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने प्रहरी कुकुर ‘लियो’लाई पुरस्कृत गरिएको थियो । त्यस्तै, दौड प्रतियोगितामा प्रथम हुने ‘तोजो’, बाधापार प्रतियोगितामा प्रथम हुने ‘रोज’ तथा आज्ञापालन प्रतियोगितामा उत्कृष्ट हुने ‘छुर्पी’लाई पनि डीआईजी रानाले पुरस्कार प्रदान गरे । यसका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयका प्रहरी कर्मचारीहरूलाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी रानाले अपराध अनुसन्धान तथा सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको केनाइन सेवाले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । उनले यस सेवालाई आगामी दिनमा थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति र आवश्यक भौतिक स्रोतसाधनले सम्पन्न गर्दै लैजानुपर्नेमा जोड दिए ।

केनाइन सेवाले केन्द्रीय तहमा मात्र नभई प्रदेशस्तरमा समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आएको उल्लेख गर्दै उनले यसको क्षमता र प्रभावकारिता अझ विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमका क्रममा प्रहरी कर्मचारी तथा तालिमप्राप्त प्रहरी कुकुरहरूले पुष्पवर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगितालगायतका विभिन्न आकर्षक तथा मनोरञ्जनात्मक प्रदर्शनी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक डा.चेतनारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रमका प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले धन्यवाद मन्तव्य राखेका थिए ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी बनाउन लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा विशेष तालिमप्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ ।

कार्यक्रममा प्रहरी अधिकृत तथा जवान, सञ्चारकर्मी र आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।