चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी महानिरीक्षक केसीको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले नजिकिँदै गरेका प्रमुख चाडपर्वलाई लक्षित गरी तयार पारिएको सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

उनले चाडपर्वका समयमा हुन सक्ने आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालनलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक केसीले दीपावली, नेपाल संवत्, छठलगायतका चाडपर्वमा सुरक्षा संवेदनशीलतालाई विशेष ध्यान दिन आग्रह गरेका हुन् ।

उनले चाडपर्वका समयमा चोरी, लुटपाटलगायतका आपराधिक घटना हुन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण तथा घटनाको तत्काल सम्बोधनका लागि प्रहरी परिचालन प्रभावकारी बनाउनुपर्ने बताए । साथै, आ–आफ्नो कार्यक्षेत्रमा सुरक्षा योजना पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै व्यावसायिक, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिए ।

चाडपर्वका समयमा बढ्न सक्ने सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक केसीले ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित र नागरिकमैत्री बनाउन निर्देशन दिए । उनले प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यशैलीमा सुधार गर्दै नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाह गर्नुपर्नेमा समेत जोड दिए ।

त्यसैगरी, पटका तथा अन्य विस्फोटक पदार्थको अवैध कारोबार र प्रयोग नियन्त्रण गर्न विशेष निगरानी बढाउनुपर्ने बताउँदै सामाजिक सद्भाव खलल पार्ने खालका गतिविधिप्रति सजग र सतर्क रहन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले उपत्यकाको समग्र शान्ति सुरक्षा अवस्था, विद्यमान सुरक्षा चुनौती तथा चाडपर्वका समयमा अपनाउनुपर्ने सुरक्षा सावधानीका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियासहित वरिष्ठ प्रहरी अधिकृत तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतमा कार्यरत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।