दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा भीषण आगलागी

दियोपोस्ट संवाददाता

काठमाडौँ । काठमाडौँको व्यस्त व्यापारिक क्षेत्र दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । आइतबार बिहान करिब ८ः५५ बजे बारमा आगलागी सुरु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकल प्रयोग भइरहेको छ ।

दरबारमार्गस्थित महेन्द्र शालिक नजिक रहेको उक्त लाउन्ज बारमा लागेको आगो निभाउन दुईवटा दमकल घटनास्थलमा पुगेका छन् । नेपाल प्रहरीसहितका सुरक्षाकर्मी आगो नियन्त्रणमा लिन खटिएका छन् ।

प्रहरीका अनुसार आगलागी हुँदा बारमा कोही पनि उपस्थित थिएनन् । बारका सञ्चालकलाई घटनास्थलमा बोलाउने प्रयास भइरहेको छ ।

प्रारम्भिक जानकारीअनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगलागीको कारण बारे आधिकारिक जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ । आगलागीबाट भएको क्षति र घटनाको थप विवरण आउन बाँकी छ ।