
तम्घास । गुल्मीको गुल्मीदरबार गाउँपालिका-३ पौवाखर्कस्थित घर्ग्याङ भिरमा एक पुरुषको शव फेला परेको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र बिश्वकर्माका अनुसार आज बिहान करिब ८ बजे स्थानीयवासी घाँस काट्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
ठुलाचौरदेखि पौवाखर्क जाने भित्री कच्ची सडकबाट करिब ८०० मिटर तल भिरमा पुरुषको शव देखिएको थियो । सूचनापछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्काको प्रक्रिया अघि बढाएको जनाइएको छ ।
मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेरका पुरुष रहेको प्रहरीले जनाएको छ । उनको नामथर र ठेगाना खुल्न सकेको छैन । प्रारम्भिक विवरण अनुसार मृतकका दुवै हातमा ‘सन्दिप’ नामको ट्याटु खोपिएको छ ।
मृतकले लगाएको पहिरन हेर्दा उनी वर्तमान वा पूर्वसैनिक सेवामा आबद्ध व्यक्ति हुन सक्ने अनुमान गरिएको प्रहरीको भनाई छ ।
घटनास्थलको अवस्था, शव परीक्षण (पोस्टमार्टम) तथा अन्य अनुसन्धानबाट मृत्युको वास्तविक कारण पत्ता लगाइने प्रहरीले जनाएको छ।