
काठमाडौँ । ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभराज पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको आन्तरिक शक्ति संघर्षले नेपालको समग्र सत्ता समीकरणमा नयाँ जटिलता सिर्जना गर्न सक्ने बताएका छन् । विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच बढ्दो असमझदारीले राज्यका सुरक्षा निकायहरूको भूमिकालाई थप संवेदनशील बनाउन सक्ने उनको भनाई छ ।
पन्तका अनुसार आईजीपी तथा इनाम सपकोटा प्रकरणसँग जोडिएर सार्वजनिक भएको विवादले सरकारभित्रको शक्ति सन्तुलन र राजनीतिक नेतृत्वबीचको सम्बन्धबारे गम्भीर प्रश्न खडा गरेको छ ।
उनले रवि लामिछानेले बालेन शाहलाई संसदीय दलको नेताबाट हटाएर आफ्नै राजनीतिक रणनीतिअनुसार अघि बढ्न खोजेमा त्यसका लागि पार्टीभित्रको संसदीय अंकगणित मात्रै पर्याप्त नहुन सक्ने बताएका छन् । बालेनको उच्च जनसमर्थन र सामाजिक सञ्जालमा रहेको प्रभावका कारण यस्तो कदम राजनीतिक रूपमा निकै संवेदनशील बन्न सक्ने उनको विश्लेषण छ ।
पन्तले सत्ता समीकरणमा सुरक्षा निकायहरूको भूमिका महत्त्वपूर्ण हुन सक्ने संकेत गर्दै भनेका छन्, “यदि रवि लामिछानेले बालेन शाहलाई संसदीय दलको नेताबाट हटाएर आफ्नो राजनीतिक रणनीतिअनुसार अघि बढ्न खोजे भने त्यसका लागि पार्टीभित्रको अंकगणित मात्र पर्याप्त नहुन सक्छ ।”
त्यस्तै, बालेन शाहले रवि लामिछानेविरुद्ध राहदानीलगायतका विषयमा कानुनी प्रक्रिया अघि बढाउने परिस्थिति बनेमा त्यसको कार्यान्वयनमा राज्यका सुरक्षा तथा अनुसन्धान निकायहरूको भूमिका निर्णायक हुन सक्ने पन्तको भनाइ छ । यस्तो अवस्थामा सुरक्षा निकायहरूको संस्थागत भूमिका राजनीतिक रूपमा थप संवेदनशील बन्ने उनको भनाई छ ।
उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागजस्ता राज्यका संस्थागत संयन्त्रहरूको भूमिकालाई विशेष महत्त्व दिएका छन् । उनका अनुसार रास्वपाभित्रको शक्ति संघर्षले राजनीतिक नेतृत्वलाई मात्र नभई राज्यका संस्थागत निकायहरूलाई समेत संवेदनशील अवस्थामा पुर्याउन सक्छ ।
पन्तले विशेषगरी प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जालमा आउने एउटा स्टाटसले समेत नेपालको वर्तमान राजनीतिक घटनाक्रमलाई नयाँ दिशातर्फ मोड्न सक्ने सम्भावना औँल्याएका छन् ।
उनका अनुसार बालेनले प्रत्यक्ष रूपमा नेपाली युवालाई सम्बोधन गर्दै कुनै राजनीतिक वा सार्वजनिक आह्वान गरेमा त्यसको प्रभाव सामाजिक सञ्जालमा मात्र सीमित नहुन सक्छ । त्यसले सडकको राजनीतिमा समेत नयाँ परिस्थिति सिर्जना गर्न सक्ने उनको विश्लेषण छ ।
बालेनको लोकप्रियता र युवामाझ रहेको प्रभावका कारण उनको एउटा सार्वजनिक अभिव्यक्तिले ठूलो राजनीतिक तरंग पैदा गर्न सक्ने पन्तको तर्क छ । यस्तो परिस्थिति उत्पन्न भएमा रास्वपाभित्रको आन्तरिक शक्ति संघर्ष पार्टीको सीमाभन्दा बाहिर पुगेर राष्ट्रिय राजनीतिक मुद्दा बन्न सक्ने देखिन्छ ।
त्यस अवस्थामा सडकको जनमत, संसदीय अंकगणित र राज्यका संस्थागत संयन्त्रबीच नयाँ शक्ति सन्तुलनको अवस्था सिर्जना हुन सक्ने उनले औँल्याएका छन् । यस प्रक्रियामा सुरक्षा निकायहरूको संस्थागत भूमिका विशेष महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
पन्तको समग्र विश्लेषणमा सामाजिक सञ्जालको लोकप्रियता र जनसमर्थनका आधारमा स्थापित राजनीतिक नेतृत्वले अब राज्यका संस्थागत शक्ति केन्द्रहरूसँगको सन्तुलन कायम राख्ने चुनौती सामना गर्नुपर्ने अवस्था आएको छ । रास्वपाभित्रको वर्तमान विवादले नेपालको राजनीतिमा नयाँ शक्ति संघर्षको संकेत गरेको उनको निष्कर्ष छ ।