मकवानपुरमा ईभी दुर्घटना : १० जनाको मृत्यु, ५ घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ६: १० बजेकाठमाडौँबाट सर्लाहीका लागि छुटेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको ईभी गाडी बिहीबार बिहान भीमफेदीमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन् । दुर्घटनामा घाइते भएका दुई बालक र तीन पुरुषको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

घाइते हुनेमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव रहेका छन् । उनीहरू सबै सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुरका स्थानीय बासिन्दा रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

गाडीमा चालकसहित १६ जना सवार रहेको खुलेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस