आजदेखि शनिबारसम्म अपराह्नमा बादल लाग्ने, पहाडी भेगमा हल्का वर्षाको सम्भावना

दियोपोस्ट संवाददाता

काठमाडौँ । कमजोर पश्चिमी वायुको प्रभावले तिहारका दिन हिजो देशका अधिकांश भूभागमा वर्षा भएको थियो । काठमाडौँ र भक्तपुरका केही स्थानमा असिनासहित पानी परेको थियो ।

हिजो भएको वर्षामध्ये सबैभन्दा बढी काठमाडौँमा मापन गरिएको छ । काठमाडौँमा ३१ दशमलव २ मिलिमिटर वर्षा भएको मौसमविद्ले बताएका छन् ।

कमजोर पश्चिमी वायुको प्रभाव अझै कायम रहेकाले आज बिहीबार देखि शनिबारसम्म अपराह्नमा बादल लाग्ने र पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । आइतबार भने नेपालको पश्चिमी आधा भागका धेरै स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् विनोद पोखरेलका अनुसार बंगालको खाडीमा विकसित हुन सक्ने न्यूनचापीय प्रणाली नेपालतर्फ आउने सम्भावना अहिलेसम्म कम देखिएको छ ।

यद्यपि, त्यसका लागि अझै करिब एक हप्ता बाँकी रहेकाले प्रणालीको विकास र मार्गसम्बन्धी पूर्वानुमान परिवर्तन हुन सक्ने उनले बताएका छन् । उनले मौसमसम्बन्धी नियमित अपडेट हेर्नसमेत आग्रह गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस