
काठमाडौँ । देउसीभैलो खेल्ने क्रममा सार्वजनिक स्थानमा अश्लिल नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा पर्नेमा रुपन्देहीको देवदह नगरपालिका-७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका-३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन् ।
उनीहरूलाई बिहीबार राति रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१० स्थित महिलावार बजारबाट इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत देउसीभैलो कार्यक्रममा अश्लिल नृत्य प्रदर्शन गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले परम्परागत देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षणविपरीत हुने गरी अमर्यादित तथा अश्लिल नृत्य, गीत र संगीत प्रदर्शन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।