मकवानपुर ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा चालकसहित २० जना सवार रहेको खुलेको छ भने ६ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौँडा अस्पताल ल्याइएको थियो । दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेको हो । उनीहरूको पहिचान खुल्न बाँकी छ ।

मृत्यु हुनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरटोलका २५-२६ वर्षीय सुवेक यादव, ८ वर्षीया शिक्षा यादव, ४ वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् ।

त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका-८ का ३० वर्षीय चालक रवि शंकर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव छन् ।

त्यसैगरी, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादवलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको छ ।

बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनापछि सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

यससँगै दुर्घटनामा गाडीमा सवार २० जनामध्ये १४ जनाको मृत्यु र ६ जना घाइते भएको पुष्टि भएको छ ।