चक्रघट्टा गाउँपालिकामा आज शोक बिदा, मृतकका परिवारलाई ५० हजार आर्थिक सहायता

दियोपोस्ट संवाददाता

काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय सवारी दुर्घटनामा परी मृत्यु भएकाहरूको शोकमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज (शुक्रबार) स्थानीय शोक बिदा दिएको छ ।

कात्तिक २६ गते बिहान भीमफेदी गाउँपालिका क्षेत्रमा भएको दुर्घटनामा चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुरका स्थानीयसहित यात्रुहरूको मृत्यु भएपछि गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार गाउँपालिकाको बिहीबार बसेको निर्णयले गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।

दुर्घटनामा ज्यान गुमाएका गाउँपालिकाका स्थानीयको परिवारलाई अन्तिम संस्कार तथा काजक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले प्रतिमृतक ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने जनाएको छ ।

शोक बिदाका दिन गाउँपालिका क्षेत्रका सरकारी तथा सार्वजनिक कार्यालयबाट नियमित सेवा प्रवाह बन्द रहने भए पनि स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा भने सञ्चालन हुनेछ ।

गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।