
काठमाडौँ । सूर्यदेवको उपासना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ । पर्व सुरु भएसँगै तराई-मधेशका गाउँबस्ती तथा बजारमा चहलपहल बढेको छ ।
छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले नहाय-खाय विधि गर्दैछन् । यस अवसरमा नदी, पोखरी तथा जलाशयमा स्नान गरी शुद्ध र सात्त्विक भोजनका रूपमा अरवा-अर्बाइन ग्रहण गर्ने परम्परा छ ।
पर्वको दोस्रो दिन शनिबार खरना विधि गरिनेछ । यस दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ चामल, सक्खर र दूधबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गर्नेछन् ।
तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ । छठको मुख्य दिन मानिने यस दिन व्रतालुहरू पूजा सामग्रीसहित नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यदेवको पूजा आराधना गर्नेछन् । पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पारन विधिमार्फत छठ पर्व सम्पन्न हुनेछ ।
छठ पर्वमा बाँसबाट बनेका ढाकी, डगरी, माटोका कोसिया, कुरबार तथा हात्तीका प्रतिमालगायत सामग्री प्रयोग गरिन्छ । ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, बेसार, विभिन्न तरकारी तथा फलफूल सूर्यदेवलाई अर्पण गरिने प्रमुख प्रसाद हुन् ।
यस पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्रै प्रसाद ग्रहण गर्ने परम्परा छ । कतिपय व्रतालुहरूले अर्घ्य दिने क्रममा करिब ४८ घण्टासम्म अन्न र पानीसमेत त्यागेर कठोर उपवास बस्ने गर्छन् ।
धार्मिक आस्था र शुद्धतासँग जोडिएको छठ पर्वलाई सामाजिक सद्भाव, आपसी एकता र सहिष्णुताको प्रतीकका रूपमा समेत लिइन्छ । प्रसाद ग्रहण तथा वितरण गर्ने परम्पराले समुदायबीचको सम्बन्ध र सद्भावलाई थप बलियो बनाउने विश्वास गरिन्छ ।
पर्व सुरु भएसँगै तराई-मधेशका बजारमा पूजा सामग्री र फलफूल किनमेल गर्नेहरूको भीड बढेको छ । विभिन्न नदी, पोखरी तथा जलाशयका घाटहरू सरसफाइ र सजावट गरी आकर्षक बनाउने काम भइरहेको छ । जनकपुरधामका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तलाउलगायत ऐतिहासिक जलाशयहरूलाई झकिझकाउ बनाइएको छ ।
छठ गीतका मधुर धुनले मिथिलाञ्चलसहित समग्र तराई-मधेशको वातावरण भक्तिमय बनेको छ । घर, बजारदेखि पूजा घाटसम्म छठ पर्वको रौनक छाएको छ ।