
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को प्रथम राष्ट्रिय सम्मेलनले उदयबहादुर चलाउने ‘दिपक’लाई महासचिव चयन गरेको छ । काठमाडौंमा असोज ५ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन बुधबार सम्पन्न हुँदै चलाउनेको नेतृत्वमा ८५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।
महासचिव प्रणाली अवलम्बन गर्ने निर्णय गरेको पार्टीले यसअघि अध्यक्षमण्डलका अध्यक्ष रहेका चलाउनेलाई महासचिवको जिम्मेवारी दिएको हो । सम्मेलनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशासम्बन्धी विभिन्न निर्णयसमेत गरेको जनाइएको छ ।
नवनिर्वाचित ८५ सदस्यीय केन्द्रीय समितिमा ३९ जना नयाँ सदस्य थपिएका छन् । यसअघि केन्द्रीय समितिमा रहेका १० जना नेताले भने केन्द्रीय समितिबाट बिदाइ लिएका छन् । उनीहरूले पार्टीभित्र अन्य जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
केन्द्रीय समितिबाट बिदाइ हुने नेताहरूमा पूर्वस्थायी समिति सदस्य कृष्ण धमाला ‘गम्भीर’, डिडी पाण्डे ‘प्रतीक’ र देवकला अधिकारी ‘मुक्ति’लगायत रहेका छन् ।
महासचिवमा चयन भएका दिपक तत्कालीन जनमुक्ति सेनाका पूर्वडिभिजन सह-कमाण्डरसमेत हुन् ।




