
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल ११ दिने चीन भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमणमा १६ सांसदसहित पार्टीका पदाधिकारी सहभागी छन् ।
भ्रमण टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीलगायत सांसद छन् ।
भ्रमणका क्रममा टोलीले बेइजिङ, सिचुवान र झेजियाङलगायत क्षेत्रको भ्रमण गर्नेछ । चीनको प्रविधि, औद्योगिक विकास, नवप्रवर्तन, कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा हासिल उपलब्धिबारे अध्ययन गर्ने रास्वपाले जनाएको छ ।
टोली सदस्य एवं रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख डा.आनन्दबहादुर चन्दले कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, डिजिटल प्रविधि र उद्यमशीलताका क्षेत्रमा चीनले अपनाएका नीति तथा अभ्यासबारे जानकारी लिने बताएका छन् । चीनको अनुभव नेपालको आवश्यकता र क्षमताअनुसार उपयोग गर्न सकिने सम्भावना खोजिने उनको भनाइ छ ।
भ्रमणका क्रममा सिचुवानको औद्योगिक पार्क, सन् २००८ को भूकम्पबाट प्रभावित वेन्चुआन क्षेत्र, पाण्डा संरक्षण केन्द्र तथा सिचुवान विश्वविद्यालयको अवलोकन गर्ने कार्यक्रम छ । त्यस्तै, झेजियाङमा रोबोटिक्स प्रविधि, औद्योगिक क्षेत्र, तीव्र गतिको रेल सेवा र यीवू अन्तर्राष्ट्रिय व्यापार केन्द्रबारे अध्ययन गर्ने टोलीको कार्यतालिका छ । चिनियाँ उद्यमीसँग लगानी तथा व्यावसायिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो । प्रधानमन्त्री शाहले भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), चिनियाँ लगानीका आयोजना, पर्यटन तथा आर्थिक सहयोगका विषय उठाउन सुझाव दिएका थिए । नेपाल र चीनबीच सहमति भएका आयोजना कार्यान्वयनमा देखिएका ढिलाइबारे पनि छलफल गर्न उनले आग्रह गरेको बताइएको छ ।
सभापति लामिछानेले भने चीनसँगको सम्बन्ध र सहकार्यका विषयमा केन्द्रित रहन तथा भारतलगायत तेस्रो मुलुकको प्रसंग नजोड्न टोलीलाई निर्देशन दिएका छन् । उनले चीनको विकास मोडेल, अर्थतन्त्र, रोबोटिक्स, विद्युतीय सवारीसाधन, विपद् व्यवस्थापन र पुनर्निर्माणका अनुभव अध्ययन गर्न सुझाव दिएका छन् ।
टोली सदस्य डा.धनञ्जय रेग्मीले भ्रमणले नेपाल-चीन सम्बन्ध सुदृढ बनाउन तथा आर्थिक, प्राविधिक र विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
चीन नेपालको महत्त्वपूर्ण विकास तथा व्यापारिक साझेदार हो । प्रविधि, पूर्वाधार, ऊर्जा, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यका सम्भावना रहेकाले भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको आवश्यकता र राष्ट्रिय हितअनुसार उपयोग गर्न सके यसले दीर्घकालीन लाभ पुर्याउन सक्ने अपेक्षा गरिएको छ ।