छठ मनाउन गाउँ गएको मौका छोपी घरमा चोरी र आगजनी

दियोपोस्ट संवाददाता

सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१ मा छठ पर्व मनाउन घरपरिवार गाउँ गएको मौका छोपी अज्ञात समूहले घर तथा किराना पसलमा चोरी गरी आगजनी गरेको छ । आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति जलेर नष्ट भएको छ ।

मिर्चैया नगरपालिका-१ स्थित शौर्य सिमेन्ट उद्योगको पूर्वपट्टि रहेको रामकुमार महतोको घर तथा घरमै सञ्चालित किराना पसलमा अज्ञात समूहले चोरी गरेपछि आगो लगाएर फरार भएको प्रहरीको भनाई छ ।

छठ पर्व मनाउन घरपरिवार गाउँ गएको मौका पारेर चोरी तथा आगजनी गरिएको प्रारम्भिक विवरणबाट खुलेको छ । आगलागीका कारण घर तथा पसलमा रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन् । घटनाबाट १० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको बताइएको छ ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा चोरी र आगजनी गर्नुको कारणबारे थप विवरण आउन बाँकी छ ।