
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर न्यूनीकरण गर्न समुदायस्तरमा गर्न सकिने प्रयासको प्रवर्द्धन तथा क्षति न्यूनीकरणमा व्यक्ति र समुदायको जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
महानगरपालिकाले विभिन्न साझेदार संस्थासँगको सहकार्यमा मङ्सिर ७ देखि १३ गतेसम्म हरेक दिन फरक-फरक कार्यक्रम गरी ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने जनाएको छ ।
सप्ताहअन्तर्गत विद्यालय उमेरका बालबालिकालाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउने उद्देश्यले कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका स्थायी बासिन्दाका बालबालिका तथा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सात जना सहभागीलाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने महानगरपालिकाले जनाएको छ ।