आकाश गोल्छाको कम्पनीले आयत गर्ने फोर्डको एभरेस्ट गाडीमा प्राविधिक समस्या

मदन ढुङ्गाना

काठमाडौँ । कल्पना गर्नुहोस् त, २ करोड ५ लाख हालेर किनेको गाडीमा ३ महिनामै प्राविधिक समस्या आउन थाल्यो भने के होला ? अझ प्रतिष्ठित भनिएको कम्पनीको फोर ह्वील ड्राइभको गाडी खरिद गरेको ३ महिनामै ब्याट्रीबाट धुवाँ आउने र बेलाबेलामा आगो देखिन थाल्यो भने के होला ?

अनि सोही समस्या लिएर सर्भिस सेन्टरमा सेवाग्राही वा ग्राहक पुग्दा कम्पनीले राम्रोसँग मर्मत गरेर पठाइदेला कि सबै ठिक छ भनेर २० हजार रुपैयाँको ब्याट्री कभर मात्रै फेरेर पठाइदेला ?

जवाफ स्पष्ट नै हुन्छ, सवारीसाधनको वारेन्टी अवधिमै छ भने वारेन्टी भित्रै रहेर मर्मत गरिदिनुपर्नेछ भने वारेन्टी सकिएको छ भने पनि गाडीको मर्मत गरेर उपभोक्तालाई दिनु आयातकर्ता कम्पनीको जिम्मेवारी हुन्छ ।

तर २ करोड ५ लाख रुपैयाँ हालेर फोर्डको एसयुभी गाडी किनेका कृष्णप्रसाद दाहालले भने कम्पनीबाट कुनै सेवा र सुविधा नै पाएनन् । बिग्रिएको गाडी कम्पनीले सबै ठिक छ भनेर मर्मत नै नगरी पठाइदिँदा गाडीमा आफै आगो लाग्यो र २ करोडभन्दा बढी मूल्यको गाडी कवाडी बन्यो । चल्दाचल्दैको गाडीमा प्राविधिक समस्याका कारण आगो लागेर जलेपछि उपभोक्ता अदालतसम्म पुग्दा कम्पनीले इन्सुरेन्स कम्पनीबाट पाएको रकमबाहेक पनि आयातकर्ता जिओ अटोमोबाइल्सलाई १० लाख रुपैयाँ क्षतिपूर्ति तिराउँदै ग्राहकलाई दिने फैसला गरिएको छ । गाडीको प्राविधिक समस्यालाई नजरअन्दाज गरी समस्या समस्या नगरिदिँदा भएको क्षतिबापत उपभोक्ता अदालत काठमाडौँले फोर्ड गाडीको आधिकारिक आयातकर्ता जिओ अटोमोबाइल्सबाट उपभोक्ता कृष्णप्रसाद दाहालले १० लाख क्षतिपूर्ति पाउने गरी फैसला भएको छ ।

पहिले उपभोक्ता अदालतसम्म पुगेको फोर्डको एभरेस्ट गाडीसम्बन्धी विवादको पूरा जानकारी बुझौँ ।

के हो विवाद ?

औषधीहरूको होलसेल तथा खुद्रा विक्री गर्ने उपकार सेवा फर्मका प्रोप्राइटर कृष्णप्रसाद दाहालले कम्पनीकै काममा समेत सहयोग पुराउने भनी अफरोड ड्राइभिङसमेत गर्न मिल्ने गरी फोर्डको एभरेस्ट मोडेलको एसयुभी खरिद गरे ।
दाहालले उपभोक्ता अदालत काठमाडौँमा दिएको फिराद अनुसार २०८१ पुस २३ गते अर्थात् २०२५ को जनवरी ७ मा सन् २०२२ मोडेलको फोर्ड एभरेस्ट एसयुभी गाडी आधिकारिक विक्रेताबाट २ करोड ५ लाख रुपैयाँमा खरिद गरे ।

त्यसपछि गाडी चलाउन थालेकामा गाडी किनेको तीन महिनामै ब्याट्रीबाट धुवाँ र आगो देखिने समस्या सुरु भएको थियो ।

दाहालले २०८१ चैत २० गते मकवानपुरमा, २०८२ वैशाख ५ गते नारायणगढमा, वैशाख १२ गते स्वयम्भूस्थित फोर्ड सर्भिस सेन्टर तथा सोही वैशाख ३१ गते चाबहिलको एस्यूरेड मोटर्समा समेत देखाएर पटक पटक उक्त गाडी मर्मत गर्न लगे । मर्मतका क्रममा नारायणगढमा तार कस्ने, स्वयम्भूमा पुनः तार कस्ने तथा चाबहिलमा वारेन्टी अवधिकै समयमा १९ हजार २४७ रुपैयाँ लिएर ब्याट्री माथिको रातो कभर फेरियो । त्यति बेला ब्याट्रीमा वा अरू के मा समस्या भएको हो केही नभनी ‘सबै ठिक छ’ मात्रै भनेर प्रयोग गर्न मिल्छ भनेर दिइयो ।

फिराद अनुसार गाडीमा लगातार समस्या आइरहेको कारण डेढ महिनाकै अवधिमा उनले ४ पटक आधिकारिक सर्भिस सेन्टरमा गाडी मर्मतका लागि लगेको देखिन्छ । उपभोक्ता दाहालका अनुसार गाडीको ब्याट्रीबाट पटक पटक धुवाँ आइरहने, ब्याट्रीको माथि रहेको कभर नै तातेर पग्लने समस्या भए पनि सर्भिस सेन्टरले कुनै समस्या छैन भन्दै फिर्ता पठाइदिएको थियो ।

कम्पनीले नै कुनै समस्या छैन चलाउन मिल्छ भनेपछि दाहाल डोल्पामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भनी २०८२ जेठ १८ गते फोर्ड गाडीको आधिकारिक सर्भिस सेन्टर रहेको भरतपुरको एस एच अटोकेयरमा परीक्षण गराई लिखितरुपमा गाडीको अवस्था सबे ठिक छ भन्ने लिखित पत्र लिएर नै उनी डोल्पातर्फ लाग्छन् ।

गाडीमा औषधी, स्वास्थ्य सामग्री, नवजात शिशु तथा सुत्केरीका लागि सामग्री, २९ कार्टुन राहत सामाग्री र व्यक्तिगत सामान हालेर डोल्पा जाँदै गर्दा २०८२ जेठ २० गते रुकुम पश्चिमको आठविसकोट नगरपालिका, ६ दामाचौरमा गाडी सामान्य ढुङ्गामा ठोक्कियो । ढुङ्गामा ठोक्किए लगत्तै ब्याट्रीबाट गाडीको ड्यासबोर्डतर्फ अत्यधिक कालो धुवाँ निस्किएर केही क्षणमै गाडीमा पूरै आगलागी भई गाडी पूर्ण रूपमा जलेर नष्ट भयो ।

उक्त दुर्घटनामा गाडीका धनी तथा चालकसमेत रहेका दाहाल धुवाँका कारण अचेत भई गाडी भित्रै थुनिएको अवस्थामा स्थानीयवासी र सँगै यात्रा गरिरहेका रमाकान्त अधिकारीले झ्याल फुटाएर बाहिर निकालेका थिए । त्यसपछि मात्रै उनको ज्यान जोगिएको थियो ।

त्यसपछि प्रहरी र स्थानीय निकायबाट मुचुल्का तयार गरिएको थियो । उक्त दुर्घटनापछि दाहालले २०८२ असार २३ गते फोर्ड कम्पनीको आधिकारिक आयातकर्ता जिओ अटोमोबाइल्सका प्रतिनिधिलाई घटनाबारे जानकारी गराउँदा कम्पनीले कुनै जिम्मेवारी स्वीकार नगर्ने भनी जानकारी दियो । घटनाकै सम्बन्धमा स्वतन्त्र प्राविधिक संस्था पिनाक कन्सल्टेन्टले दुर्घटनाको कारणमा उत्पादकीय त्रुटि रहेको औँल्याएको थियो ।

चालकसमेत रहेका दाहाल धुवाँका कारण अचेत भई गाडी भित्रै थुनिएको अवस्थामा स्थानीयवासी र सँगै यात्रा गरिरहेका रमाकान्त अधिकारीले झ्याल फुटाएर बाहिर निकालेका थिए

सोही विषयलाई आधार मानेर दाहालले फोर्डको त्रुटिपूर्ण उत्पादनको आयात र बिक्री गरेको तथा गुणस्तरहीन मर्मत गरी पटक पटक आएको ब्याट्री समस्यालाई बेवास्ता गरेकाले आगलागीको घटना भएको दाबी गरिएको छ । आगलागीका कारण गाडी पूर्ण रूपमा जलेर नष्ट हुँदा गाडीमा रहेका औषधी, नगद, मोबाइल, लत्ताकपडा, स्वास्थ्य शिविरका सामग्री लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको फिरादमा उल्लेख छ साथै चालकसमेत रहेका दाहाल शारीरिक रूपमा घाइते र मानसिकरुपमा समेत आघात पुगेको कारण किष्ट अस्पतालमा भर्ना भई उपचार गर्नुपरेको, लामो समय औषधी सेवन गर्नु परेको, व्यापारिक योजना अवरुद्ध भएको, फर्मको प्रतिष्ठामा क्षति पुगेको तथा डोल्पाको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन नसकेर सयौँ सेवाग्राही प्रभावित हुनुपरेको उल्लेख गरिएको छ ।

यी विविध कारणहरूबाट मर्मत तथा दुर्घटनापछि भएको आर्थिक क्षति अन्तर्गत वैकल्पिक गाडी भाडा, बैंक ब्याज, बीमाबाट कम रकम प्राप्त भएको, स्वतन्त्र प्राविधिक अनुसन्धान खर्च, इन्जिन काट्ने तथा दर्ता खारेज गर्ने खर्च, नगद, मोबाइल, कपडा, औषधी, मानसिक उपचार खर्च लगायत गरी बीमाबाट आएको रकमबाहेक पनि १ करोड ७० लाख एक हजार ४५८ रुपैयाँ पन्ध्र पैसा क्षति पुगेको भन्दै सोही रकम दाबी गर्दै उपभोक्ता अदालत काठमाडौँमा मुद्दा दायर गरिएको थियो ।

दाहालले उक्त मुद्दामा थापाथलीका केन्द्रीय कार्यालय रहेको जिओ अटोमोबाइल्स प्रालि, जिओ इन्टरनेशनल प्रालि, जिओ अटोमोबाइल्सका सञ्चालक आकाश गोल्छा, भरतपुरका रहेको सर्भिस सेन्टर एस.एच. मोटर्स प्रालि र त्यसका सञ्चालक निर्देश सेढाई, एस.एच. अटोकेयर प्रालि, चाबहिलको सर्भिस सेन्टर एस्युरेड मोटर प्रालि र स्वयम्भूको सर्भिस सेन्टर जिओ अटोकेयर प्रालिलाई विपक्षी बनाए ।

व्यवसायी आकाश गोल्छा

१ करोड ७० लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको मुद्दा मुद्दामा प्रतिउत्तर लगाउने क्रममा आधिकारिक आयातकर्ता र सर्भिस सेन्टरहरूले फिराद दावी झुटो रहेको भन्दै प्रतिउत्तर लगाए ।

उनीहरूको प्रतिउत्तरमा वादीले उत्पादनमा भएको गल्तीकै कारणले उक्त गाडीमा आगलागी भएको हो भन्ने कुनै ठोस आधार प्रमाण उजुरीमा खुलाउन सक्नु भएको छैन । मिति २०८१ चैत २० र २०८२ वैशाख ५ गते मकवानपुर र नारायणगढमा गाडीमा धुवाँ आगो देखिएको, ब्याट्रीमा आगो देखिएको भनेको धुवाँ र आगो उजुरीकर्ता बाहेक अरू कसैले पनि नदेखेको, गाडीको ब्याट्रीमा हाई भोल्टेज पास भएमा मात्रै आगो लाग्ने सम्भावना रहने तर उक्त गाडीको ब्याट्री १२ भोल्टको मात्रै रहेको कारण ब्याट्रीबाट आगो लाग्ने सम्मको भोल्टेज नै पास हुन नसक्ने लगायतका प्रतिउत्तर पत्र फिराएका छन् ।

साथै फोर्डको एभरेस्ट जस्तो एसयुभी गाडीहरूमा सेफ्टी फिचरहरू रहेका कारण बढी भोल्टेज पास भएको अवस्थामा फ्युज जाने र गाडी आफैँ बन्द हुने दाबी गर्दै प्रतिउत्तर दिइएको छ । त्यसबाहेक त्यस प्रकारका आधुनिक गाडीहरूमा कम्प्युटराइज्ड कम्पोनेन्टहरू हुने भएकाले बढी भोल्टेज पास भएको अवस्थामा सर्किट ब्रेक गरिदिने दाबी गरिएको छ ।

प्रतिउत्तरमा स्वयम्भूको सर्भिस सेन्टरमा मर्मतका लागि ल्याउँदा ब्याट्री पोलमा तातो हुने तथा पोल कभरमा प्वाल देखिएको भनेपछि चेकजाँच गर्दा पोल नट खुकुलो भएको जसका कारण पोल तात्ने र ब्याट्री टर्मिनल कभरमा क्षति पुगेको पाइएको उल्लेख छ । उक्त समस्या समाधान गर्न पोल नट कसिएको र गाडीलाई अत्याधुनिक प्रविधिको फोर्ड डाइग्नोष्टिक स्क्याननरबाट स्क्यान गर्दा गाडीमा विद्युत् सर्ट भएको लगायत कुनै त्रुटि नदेखिएको भनिएको छ ।

मर्मतका क्रममा गाडीमा वा ब्याट्रीमा धुवाँको कुनै प्रमाण नभेटिएको दाबी गरिएको छ । साथै डोल्पा जानुभन्दा अगाडि चितवनमा गरिएको चेकजाँचमा पनि ब्याट्रीमा आगो लाग्ने वा धुवाँ आउने समस्या देखिने कुनै संकेत फेला नपरेको जिकिर गरिएको थियो ।

दाहालको उक्त फिरादमा कानुनी हैसियत र अख्तियारविहीन स्वतन्त्र प्राविधिक संस्था वा व्यक्तिले बनाएको पेड रिपोर्टका आधारमा दुर्घटनाको कारण यकिन गर्न नमिल्ने दाबी गरिएको छ । त्यसबाहेक बीमा कम्पनीबाट २ करोड ४ लाख ५० हजार रुपैयाँ लिइसकेको कारण एउटै घटना, एउटै गाडीको विषयमा फरक फरक दाबी गर्न नमिल्ने र क्षतिपूर्ति दाबी गर्न नसकिने जिकिर पेस गरेको थियो ।

अदालतले के भन्यो ?

यसमा उपभोक्ता अदालतले दुर्घटनाको कारण उत्पादकीय कमजोरी भनेर यकिन गर्ने स्वतन्त्र प्राविधिक संस्था पिनाक कन्सल्टेन्टका विज्ञ प्राविधिकलाई बकपत्रका लागि अदालतमा बोलाइयो ।

प्राविधिकले गाडीका सम्पूर्ण कागजात, फोटो, भिडियो जाँच गरेर प्रतिवेदन तयार गरिएको र परीक्षणबाट उक्त गाडीमा ब्याट्रीको टर्मिनल साथसाथै अर्थिङमा समस्या देखिएको, ब्याट्रीको टर्मिनलको कनेक्सन लुज वा डिफेक्ट रहेको, त्यसको कनेक्सनको एसेम्बलमै कैफियत रहेको, कारण उक्त ब्याट्रीको टर्मिनलबाट स्पार्क हुनसक्ने र टर्मिनल माथिको क्यापबाट आगोको झिल्को निस्कन सक्ने सम्भावना रहने, ब्याट्रीको तार मेटल फ्रेममा छाडिएमा घर्षणको कारणले आगो लाग्न सक्ने सम्भावना रहने बकपत्र गरे ।

बकपत्रमा प्राविधिकले पुरानो कागजात, फोटो र भिडियोहरू हेरेर बनाएको, कागजातहरूमा स्पष्ट रूपमा फ्युज र अर्थिङको समस्या देखिएका कारण ब्याट्रीमा आएको समस्याकै कारण आगलागी भएको प्रतिवेदन दिएको उल्लेख गरे ।
त्यसपछि अदालतमा सुनुवाइ हुँदा दुवै पक्षका कानुन व्यवसायी र फिरादी तथा विपक्षीहरूले आ-आफ्नो जिकिर पेस गरे ।

त्यसपछि उपभोक्ता अदालतले उक्त दुर्घटनालाई उत्पादन त्रुटि अर्थात् म्यानुफ्याक्चरिङ डिफेक्ट र लापरबाही ठहर गर्दै उपभोक्तालाई विपक्षीहरूबाट १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला सुनायो ।

अदालतको फैसलामा भनिएको छ,
‘गाडीको ब्याट्रीमा पटक-पटक ‘थर्मल रनवे’ (अत्यधिक तातो हुने) र ‘फ्युज एस्से’ खराब हुने समस्या वारेन्टी अवधिभित्रै देखिएको थियो । प्राविधिक विज्ञ निशित मिश्रको प्रतिवेदनले ‘ब्याट्री टर्मिनलको फ्युजमा अकस्मात् विफलता र अस्थिर अर्थिङ’ का कारण आगलागी भएको पुष्टि गर्‍यो ।’

फैसलामा अगाडि भनिएको छ, ‘दुर्घटना भएपछि मात्र होइन, पहिले नै ब्याट्रीमा समस्या थियो । त्यसलाई सर्भिस सेन्टरले गम्भीरतापूर्वक नलिएर ‘तार कसेर’ पठाइयो, जसले गर्दा ढुङ्गामा ठोक्किएपछि त्यही समस्याले आगो लाग्यो ।’
उपभोक्ता अदालतले गाडीमा आगो लाग्नुका कारणबारे थप यस्तो भनेको छ ।

उपभोक्ता अदालतले उक्त दुर्घटनालाई उत्पादन त्रुटि अर्थात् म्यानुफ्याक्चरिङ डिफेक्ट र लापरबाही ठहर गर्दै उपभोक्तालाई विपक्षीहरूबाट १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला सुनायो

‘कतिपय गाडी दुर्घटना भई पूर्णरूपमा क्षति भएको अवस्था देखिँदा समेत गाडी जलेको अवस्था पाइँदैन । गाडी ढुङ्गामा ठोक्किएपछि ड्यासबोर्डबाट आगो निस्किई आगलागी भएको भनी पीडित चालक समेत आफैँ रहेका वादीले खुलाएको र सो तथ्यलाई पिनाक कन्सल्टेन्सीका प्राविधिकले समेत ब्याट्रीमा उत्पन्न हुने घर्षणका कारण गाडीको तारहरूमा असर परी आन्तरिक रूपमा आगो लाग्न सक्ने कुरालाई खुलाएको देखिँदा गाडीको ड्यासबोर्डबाट आगो देखिने कुरालाई इन्कार गर्न सकिने अवस्था हुँदैन ।’

यसरी अदालतले आयातकर्ता र सर्भिस सेन्टरकै कमजोरी र उत्पादकीय त्रुटिका कारण फोर्डको एभरेस्ट गाडीमा आगो लागेको ठहर गर्दै बीमाबाट गाडीको मूल्य मात्रै प्राप्त भएको तर गाडीभित्र रहेका सामान, औषधी, शारीरिक र मानसिक क्षति र व्यापारिक क्षतिको क्षतिपूर्ति बीमाले नदिने कारण फिरादीले थप क्षतिपूर्ति पाउने ठहर गरेको छ ।

अदालतले आफ्नो फैसलामा फिरादीले गाडी जलेपछि बीमा दाबी गरी इन्स्योरेन्स कम्पनीबाट २ करोड ४ लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेको तर गाडी दुर्घटना पश्चात् वादीले बेहोर्नु परेको अन्य आर्थिक, शारीरिक, मानसिक र भौतिक क्षतिपूर्ति बापत थप १० लाख रुपैयाँ भराई पाउने उल्लेख गरेको छ ।

व्यवसायी आकाश गोल्छा

अदालतले उक्त १० लाख क्षतिपूर्ति बापतको रकममध्ये फोर्डको गाडी आयातकर्ता कम्पनी जिओ अटोमोबाइल्स र बिक्रेता एस एच मोटर्सबाट संयुक्त रूपमा फिरादीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश भयो ।

क्षतिपूर्ति भराउने गरी भएको फैसलामा अदालतले भनेको छ, ‘गाडीको ब्याट्रीमा पटक-पटक समस्या आउँदा पनि प्रतिवादीहरूले वास्तविक समाधानको उपाय गरेनन्, यो उनीहरूको लापरबाही हो ।’

उपभोक्ता अदालतले क्षतिपूर्ति भराई पाउने फैसला सुनाए पनि मागदाबी बमोजिमको क्षतिपूर्ति भने भराएको छैन ।

सम्बन्धित खबर

सिफारिस