रौतहटमा भन्सार छलीका २ लाख २२ हजारभन्दा बढीका सामान बरामद

दियोपोस्ट संवाददाता

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा प्रहरीले भन्सार छली गरी ओसारपसार गर्न लागिएका २ लाख २२ हजार ६ सय रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब ९ः३० बजे डुमरिया प्रहरी कार्यालय अगाडि गौरबाट काठमाडौं जाँदै गरेका यात्रुबाहक बसहरू चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।

प्रहरी वरिष्ठ हवल्दार निरोज कार्कीको कमाण्डमा खटिएको चेकिङ टोलीले दुईवटा यात्रुबाहक बसमा बेवारिसे अवस्थामा राखिएका भन्सार छलीका सामान फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा.प्र.०३-००१ ख २५४० नम्बरको ‘नेपाल दर्शन’ बसबाट ३ बोरा सुर्ती (१०० केजी) र ११ कार्टुन अन्जिर (११० केजी) बरामद गरिएको हो ।

बरामद सामानको प्रारम्भिक मूल्यांकन गर्दा कुल मूल्य २ लाख २२ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय डुमरियामा राखिएको छ ।

सामान बरामद गरेपछि दुवै यात्रुबाहक बसलाई भने गन्तव्यतर्फ जान अनुमति दिइएको प्रहरीले जानकारी दिएको छ ।

सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी सार्वजनिक यातायातका साधनमार्फत विभिन्न सामान ओसारपसार हुने गरेको अवस्थामा प्रहरीले गरेको यस बरामदले यात्रुबाहक सवारीसाधनमाथिको नियमित चेकजाँच र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।

सम्बन्धित खबर

सिफारिस