
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ । यस्तै, दोस्रो खेल अपराह्न ५ः०० बजे सुरु हुने तालिका रहेको छ ।
पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेका कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स दुवै टोली जितको खोजीमा छन् । तीन खेल खेलेको कर्णालीले दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ । सुरुआती दुई खेलमा लगातार जित निकालेको कर्णाली पछिल्लो खेलमा काठमाडौँ गोर्खाजसँग पराजित भएको थियो । आज सुदूरपश्चिमलाई हराउँदै कर्णाली तेस्रो जित निकाल्ने लक्ष्यमा छ ।
यता, सुदूरपश्चिमले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ । आजको खेल जित्दै लगातार दोस्रो जित निकाल्नुका साथै अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा सुदूरपश्चिम रहेको छ ।
आजको दोस्रो खेलमा चितवन राइनोजले जितविहीन पोखरा एभेन्जर्सको सामना गर्नेछ । कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखराले हालसम्म खेलेका तीनवटै खेलमा हार बेहोरेको छ । त्यसैले आज चितवनलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्य पोखराको छ ।
अर्कोतर्फ, चितवन राइनोज पोखराविरुद्ध जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना थप बलियो बनाउन चाहन्छ । चार खेल खेलेको चितवनले दुई खेलमा जित, एक खेलमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।
जारी एनपिएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । आजका दुवै खेलले टोलीहरूको अङ्क तालिकाको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।