
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकबाट पदच्युत गरिएका दान बहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दिएको रिट बिहीबार अध्ययन नसकिएको भन्दै दर्ता हुन सकेन । रिट अध्ययनकै क्रममा रहेको भन्दै शुक्रबार मात्रै रिट दर्ता हुन सक्ने सर्वोच्च स्रोतले जनाएको छ ।
बुधबार सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको थियो । प्रहरी महानिरीक्षकमा भने एआईजी डा. मनोजकुमार केसीलाई बनाइएको थियो ।
आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर केसीलाई आईजीपी नियुक्त गरेपछि सरकारको निर्णयविरुद्ध कार्की रिट लिएर बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।
कार्कीको रिट लिएर सर्वोच्च अदालत पुगेका अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार सर्वोच्च अदालत प्रशासनले रिट अध्ययनकै क्रममा रहेको भन्दै बिहीबार नै दर्ता हुन नसक्ने र शुक्रबार मात्रै त्यस सम्बन्धमा निर्णय हुने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई हटाएर केसीलाई नयाँ आईजीपी नियुक्त गरेसँगै बुधबारबाटै केसीले आफ्नो कार्यभार सम्हालेका थिए । यता सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न र आफूलाई नै आईजीपीमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले बिहीबार बिहानै रिट लिएर आफ्ना कानुन व्यवसायीलाई पठाएका थिए ।
तर बिहीबार सर्वोच्च अदालत प्रशासनले रिट अध्ययनकै क्रममा रहेको भन्दै टाइम बाई गरेपछि यो रिट शुक्रबार मात्रै दर्ता हुने सम्भावना छ । शुक्रबार रिट दर्ता भएमा तिहार बिदापछि मात्रै उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।
त्यस आधारमा अब कार्कीको रिटको पेसी कात्तिक २७ गते शुक्रबार मात्रै पेसीमा चढ्ने सम्भावना छ । उक्त दिन पनि उक्त रिटमाथि सुनुवाइ हुन नसकेमा कात्तिक ३० गते सोमबार मात्रै पेसीमा चढेर सुनुवाइ हुने सम्भावना छ ।