
काठमाडौँ । सस्तो मूल्यमा डलर दिने भन्दै ठगी तथा लुटपाट गर्ने सुजन तामाङलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । बिहीबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार सस्तो मूल्यमा डलर दिने भन्दै डलर देखाएर ठगी तथा लुटपाट गर्ने गिरोहका सदस्य रहेका सुजन तामाङलाई बिहीबार साँझ पौने ७ बजे गोली हानेर नियन्त्रणमा लिइएको हो । ग्राहक बनेर पुगेको प्रहरी र तामाङको गोकर्णेश्वर नगरपालिका ३ गाम्छामा भेट भएपछि उनी प्रहरीलाई नै आक्रमण गरेर भाग्न लागेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गरेपछि गोली हानेर नियन्त्रणमा लिइएको हो । तामाङको घुँडा मुनी गोली लागेको छ र यति बेला राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।
प्रहरी स्रोतका अनुसार तामाङ डलर देखाएर ठगी गर्ने समूहका कुख्यात सदस्य हुन् । उनी विरुद्ध यसभन्दा अगाडि पनि डलर देखाएर ठगी तथा लुटपाट गरेको ८ वटा जाहेरी र मुद्दा रहेका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
सरकारले पूर्व प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी बनाए लगत्तै काठमाडौँ प्रहरीले कुख्यात डलर तस्करमाथि गोली चलाएर आईजीपीलाई ‘उपहार’ दिएको हो ।
यसै घटनासँगै गुन्डा तथा तस्करविरुद्ध आक्रामक छवि बनाएका नवनियुक्त आईजीपी केसीले ठगी, लुटपाट तथा तस्करीविरुद्ध कडा कदम चाल्ने सन्देश समेत दिएका छन् ।