
काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले पत्नीको शव आराले काट्ने प्रयास गरेको र फोहोरमा फाल्ने योजना बनाएको अदालतमा स्वीकार गरेका छन् । यद्यपि उनले ममताको हत्या आफूले नगरेको दाबी गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार बिहीबार (नोभेम्बर ५) भर्जिनियाको प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा बयान दिने क्रममा नरेशले सन् २०२४ जुलाई ३० को बिहान पत्नीलाई मृत अवस्थामा फेला पारेपछि शव व्यवस्थापन गर्ने प्रयास गरेको बताएका हुन् ।
उनका अनुसार बिहान करिब ४ बजे उठ्दा ममता शयनकक्षनजिकै अचेत अवस्थामा थिइन् । उनको मुख र वरिपरि बान्ता देखिएको तथा त्यहाँ औषधिका खोल र अत्यन्त विषालु कीटनाशक पदार्थ ‘सेल्फोस’को प्याकेट पनि भेटिएको नरेशको दाबी छ ।
उनले ममतालाई बचाउन करिब एक घण्टासम्म प्रयास गरेको र सीपीआरसमेत दिएको बताएका छन् । तर ममताको मृत्यु भइसकेको महसुस भएपछि आफू डराएको र शव कसरी व्यवस्थापन गर्ने भन्ने सोच्न थालेको उनको भनाइ छ ।
नरेशले सुरुमा ममताको शव पोटोम्याक नदीमा फाल्ने योजना बनाएको बताएका छन् । त्यसपछि छोरीलाई एक परिचित व्यक्तिको अपार्टमेन्टमा छाडेर शव व्यवस्थापन गर्न आवश्यक सामग्री किन्न होम डिपो गएको उनले अदालतमा बताएका थिए ।
सामग्री लिएर फर्किएपछि शव फोहोरमा फाल्ने योजना बनाएको तर शव ठूलो भएकाले डस्टबिनमा अटाउन नसकेको उनको भनाइ छ । त्यसपछि आराको प्रयोग गरी ममताको शरीरबाट खुट्टा छुट्याउने प्रयास गरेको उनले स्वीकार गरेका छन् । तर आफूले त्यो काम पूरा गर्न नसकेको उनको बयान छ ।
यसैबीच, सरकारी वकिलहरूले अनुसन्धानका क्रममा प्राप्त सीसीटीभी फुटेज र फरेन्सिक प्रमाणलाई नरेशविरुद्धको महत्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरेका छन् । अभियोजन पक्षका अनुसार ममता हराएको समयमा नरेश विभिन्न स्थानमा फोहोरका ठूला झोला फाल्न गएको सीसीटीभी फुटेजमा देखिन्छन् ।
प्रहरीले बरामद गरेको विद्युतीय आरामा भेटिएको रगतको डीएनए ममताको कपालको ब्रसबाट प्राप्त डीएनएसँग मेल खाएको फरेन्सिक परीक्षणले देखाएको थियो । यद्यपि फोहोरका झोलामा ममताको शवका टुक्रा नै थिए भन्ने पुष्टि भएको छैन ।
नेपालमा जन्मिएकी २८ वर्षीया ममता भर्जिनियाको म्यानासस पार्कमा श्रीमान् र छोरीसँग बस्दै आएकी थिइन् । उनी यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् ।
ममता सन् २०२४ जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कलमा कुराकानी गरेपछि सम्पर्कविहीन भएकी थिइन् । काममा समेत उपस्थित नभएपछि उनका सहकर्मीहरूले प्रहरीलाई खबर गरेका थिए । अगस्ट ५ मा नरेशले पत्नी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले अनुसन्धानका क्रममा घरको शयनकक्ष र बाथरुममा रगतका दाग फेला पारेको थियो । रगतको डीएनए ममतासँग मेल खाएपछि अनुसन्धान थप अघि बढाइएको थियो । त्यसपछि अगस्ट २२, २०२४ मा नरेश पक्राउ परेका थिए ।
उनीमाथि पहिलो तहको हत्या, मृत शरीरको अपमान र शव लुकाएको अभियोग लगाइएको छ । तर नरेशले ममताको हत्या आफूले नगरेको र उनले आत्महत्या गरेको दाबी गर्दै आएका छन् ।
अदालतमा शव काट्ने प्रयास गरेको स्वीकार गरे पनि नरेशले हत्या गरेको स्वीकार गरेका छैनन् । ममताको शवसमेत अहिलेसम्म फेला परेको छैन । त्यसैले उनको मृत्युको वास्तविक कारण र घटनामा नरेशको संलग्नताबारे अन्तिम निर्णय अदालतबाट हुन बाँकी छ ।