वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राखी रकम असुल्ने तथा विदेश पठाउन नसकेपछि सम्पर्कविहीन हुने व्यक्तिहरूविरुद्ध परेको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रोल्पा गंगादेव गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-१ बस्ने २६ वर्षीय रविन डाँगी रहेका छन् । उनले अस्ट्रेलिया पठाइदिने भन्दै एक जना पीडितबाट १ लाख रुपैयाँ ठगी गरेको प्रहरीको विवरणमा उल्लेख छ ।

त्यसैगरी, भक्तपुर सूर्यविनायक नगरपालिका-१ स्थायी घर भएका २२ वर्षीय रविन थापा क्षेत्री पक्राउ परेका छन् । उनले रसिया पठाइदिने भन्दै दुई जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

यस्तै, भक्तपुर सूर्यविनायक नगरपालिका-१ कै २८ वर्षीया दुर्गा थापा क्षेत्री पनि पक्राउ परेकी छन् । उनले रसिया पठाइदिने भन्दै तीन जना पीडितबाट ८ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको विवरणमा उल्लेख छ ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई काठमाडौँ महानगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने प्रलोभनमा परी अपरिचित व्यक्ति वा संस्थालाई रकम बुझाउनुअघि आवश्यक कागजात र आधिकारिकता जाँच गर्न प्रहरीले आग्रह गरेको छ ।

सम्बन्धित खबर

सिफारिस