
काठमाडौँ । सस्तो मूल्यमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी तथा लुटपाट गर्ने समूहका नाइकेलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-८ बस्दै आएका २८ वर्षीय सुजन तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका-३ गाम्चास्थित सडकबाट उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा तामाङले प्रहरीमाथि चक्कु प्रहार गरेका थिए । उनको चक्कु प्रहारबाट एक जना प्रहरी घाइते भएका छन् । त्यसपछि प्रहरीले चेतावनीस्वरूप एक राउन्ड गोली हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइते तामाङलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तामाङले विभिन्न व्यक्ति तथा होटलमा फोन गरेर आफू चिनजानको व्यक्ति भएको विश्वास दिलाउने र आफूसँग अमेरिकी डलर रहेको भन्दै सस्तो मूल्यमा साटिदिने प्रलोभन देखाउने गरेका थिए । यही शैली अपनाएर उनले असोज २२ गते पटक-पटक ५० को नोट साट्न दिएको र असोज २३ गते गोकर्णेश्वर नगरपालिका-१२ लसुनटारमा दुई जनालाई बोलाई जनही आठ लाख रुपैयाँका दरले कुल १६ लाख रुपैयाँ ठगी तथा लुटपाट गरेका थिए । अमेरिकी डलर ५० को नोट साट्ने बहानामा बोलाइएका उनीहरूबाट रकम लिएर तामाङको समूह जंगलतर्फ फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तामाङले समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा डलर ठगी तथा लुटपाटका घटना गर्दै आएका थिए । उनले स्वयम्भू, बुढानीलकण्ठ र साँखु क्षेत्रमा सुन देखाएर रकम लुटपाट गरेको समेत खुलेको छ ।
यसरी बनाउँथे ठगीको योजना
प्रहरीका अनुसार तामाङको समूहले विभिन्न गेस्ट हाउस, रेस्टुरेन्ट, सुनचाँदी पसल, हार्डवेयर, मेडिकल, डेरी तथा होलसेल पसलको निगरानी गर्ने गरेको थियो । ती पसलमा राखिएका विज्ञापन बोर्डमा उल्लेखित फोन नम्बरको तस्बिर तथा भिडियो खिचेर सञ्चालकलाई फोन गर्ने र आफू चिनजानको व्यक्ति भएको जस्तो गरी कुराकानी गर्ने गरेका थिए ।
त्यसपछि उनले सस्तो मूल्यमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर विश्वास दिलाउने गरेका थिए । विश्वास दिलाउनका लागि उनका समूहका एक सदस्यले लाटोको भूमिका निर्वाह गरी पीडितलाई थप विश्वास दिलाउने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सुरुमा सक्कली डलर दिएर विश्वास जित्ने र त्यसपछि प्रहरीको निगरानीबाट बच्न पीडितलाई ठाउँ परिवर्तन गर्दै बोलाउने गरेका थिए । प्रहरीको उपस्थिति नरहेको एकान्त तथा जंगल क्षेत्र पुगेपछि भने रकम लुटेर फरार हुने गरेका थिए ।
डलर साट्ने क्रममा रुमालमा पोको बनाएर अगाडि र पछाडि पाँच, १० र ५० अमेरिकी डलरका नोट राख्ने तथा बीचमा नेपाली रुपैयाँको आकारमा काटिएका सेता कागज वा २० रुपैयाँका नोट राखेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
ठगीपछि मोटरसाइकलको नम्बर प्लेट र आफ्नो हुलिया परिवर्तन गर्ने, एकपटक प्रयोग गरेको मोबाइल तथा सिमकार्ड पुनः प्रयोग नगर्ने र चोरीका मोबाइल तथा सिमकार्ड प्रयोग गर्ने गरेको समेत खुलेको छ । विशेषगरी सीसीटीभीको पहुँच नभएका नाङ्लेभारे, लप्सीफेदी, सुन्दरीजल, तारेभिर, शिवपुरी र नागार्जुनलगायतका क्षेत्रमा उनीहरूले पीडितलाई बोलाउने गरेका थिए ।
आठ पटक पक्राउ परिसकेका व्यक्ति
प्रहरीका अनुसार तामाङ यसअघि पनि डलर देखाएर ठगी तथा लुटपाट गरेको आरोपमा पक्राउ परी आठ पटकसम्म कानुनी कारबाहीमा परिसकेका छन् ।
उनीविरुद्ध स्वयम्भू प्रहरी वृत्त, जिल्ला प्रहरी परिसर भक्तपुर, इलाका प्रहरी कार्यालय बाह्रबिसे तथा महाराजगन्ज, बौद्ध र सातदोबाटो प्रहरी वृत्तमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउका क्रममा प्रहरीले ठगीमा प्रयोग गरिएको मोटरसाइकल, नक्कली नम्बर प्लेट, २० रुपैयाँका नोटका चार बन्डल, डलरको आकारमा काटिएका सेता कागजका बन्डल, ती कागजको पोकोमा राखिएका पाँच–पाँच डलरका नोट, एक किलो नक्कली सुनको ढिक्का तथा विभिन्न कम्पनीका मोबाइल बरामद गरेको छ ।
तामाङको समूह उपत्यकाका विभिन्न स्थानमा भएका अन्य ठगी तथा लुटपाटका घटनामा समेत संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।