
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका-२ भुवनपाटामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सुपा देउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेको लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकी १० जनाको अवस्था मध्यम रहेको छ ।
सुनवलबाट सुपा देउराली मन्दिर दर्शनका लागि आएको बस फर्कने क्रममा ब्रेक फेल भएर अनियन्त्रित भएको थियो । अनियन्त्रित बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएपछि बस सडक छेउको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।